काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
सोमबार भदौ २२ गते नुवाकोट पुगेका राष्ट्रपति पौडेलले बाढीबाट भएको क्षति, जारी खोज तथा उद्धार कार्य, राहत वितरण, होल्डिङ सेन्टरको सञ्चालन तथा प्रभावितको पुनर्स्थापनाका विषयमा जानकारी लिएका हुन् ।
विज्ञापन
राष्ट्रपतिको सचिवालयका अनुसार विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालासँग बाढीपछिको अवस्था र भइरहेका उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए ।
नुवाकोटको स्थलगत अवलोकन तथा आवश्यक जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवा प्रस्थान गरेका छन् । उनले त्यहाँ पनि बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा पीडितका समस्या बुझ्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।