वीरगञ्ज । पर्साको वीरगञ्जस्थित होटल भिस्वामा सञ्चालित ‘क्यासिनो गोल्डेन फिंगर’बाट सखुआप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेलसहित आठ जना पक्राउ परेका छन्।
नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी रोक लगाइएको अवस्थामा क्यासिनोभित्रै नेपालीहरू जुवा खेलिरहेको गुप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शुक्रबार राति छापा मारेको थियो।
छापा मार्ने क्रममा जनप्रतिनिधि र बहालवाला प्रहरी अधिकृतसहित नेपाली नागरिकहरू प्रत्यक्ष रूपमा जुवाजन्य गतिविधिमा संलग्न भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सखुआप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, प्रहरी निरीक्षक प्रदीप पौडेलका साथै अन्य स्थानीय व्यापारी तथा व्यक्तिहरू रहेका छन्। प्रहरी निरीक्षक पौडेल इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहेका थिए।
प्रचलित ‘क्यासिनो नियमावली, २०७०’ अनुसार नेपालका क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गर्न र जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
क्यासिनो केवल विदेशी पर्यटकका लागि मात्र अनुमतिप्राप्त स्थान हो। कानुन कार्यान्वयन गर्ने निकायकै जिम्मेवार प्रहरी अधिकृत र स्थानीय तहका जनप्रतिनिधि नै गैरकानुनी रूपमा क्यासिनो प्रवेश गरी जुवा खेलिरहेको भेटिएपछि यो घटनाले गम्भीर रूप लिएको छ।
पक्राउ परेका सबै आठै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा ऐन तथा मुलुकी अपराध संहिता बमोजिम गैरकानुनी जुवा तास खेलेको र क्यासिनो नियम उल्लङ्घन गरेको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।
घटनामा क्यासिनो सञ्चालकको भूमिकाबारे समेत अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
