विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ। महानगरवासीलाई सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरिएको हो।
प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोमबार आयोजित कार्यक्रममा उद्घाटन गरे। प्रयोगशाला सञ्चालनमा आएसँगै रानी अस्पतालबाट विभिन्न साधारणदेखि विशेष प्रकृतिका रोगको परीक्षण सहुलियत दरमा गर्न सकिने भएको छ।
उद्घाटन कार्यक्रममा मेयर कोइरालाले स्वास्थ्य उपचारमा लाग्ने खर्च घटाउँदै विपन्न तथा निम्न आय भएका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने महानगरको नीति रहेको बताए। निजी स्वास्थ्य संस्थाको तुलनामा रानी अस्पतालबाट कम शुल्कमा प्रयोगशाला तथा अन्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ थियो।
‘स्वास्थ्य सेवा महँगो हुँदा सबैभन्दा बढी समस्या विपन्न परिवारलाई हुन्छ। महानगरको स्वामित्वमा रहेको अस्पतालबाट गुणस्तरीय सेवा सस्तोमा उपलब्ध गराएर नागरिकको उपचार खर्च घटाउने हाम्रो प्रयास हो,’ कोइरालाले भने, ‘रानी अस्पताललाई दक्षिणी क्षेत्रसहित समग्र विराटनगरका नागरिकका लागि भरपर्दो स्वास्थ्य सेवाको केन्द्र बनाउँदै लैजानेछौँ।’
महानगरका १९ वटै वडाका वडाध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गर्नु सकारात्मक कदम भएको बताए। विगतमा विकासका हिसाबले पछाडि परेको दक्षिणी क्षेत्र अहिले महानगरको प्राथमिकतामा पर्न थालेको उनले बताए।
शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले प्रयोगशालासहित स्वास्थ्य सेवाको विस्तारबाट विपन्न तथा पछाडि परेका समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए।
महानगरको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षण उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला सञ्चालन गरिएको बताए।
निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द रहेको अवस्थामा विभिन्न स्वास्थ्य परीक्षणका लागि बिरामीले महँगो शुल्क तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले रानी अस्पतालको प्रयोगशाला सेवाले नागरिकलाई राहत पुग्ने बताए।
रानी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा रहेकाले बीमा कार्ड भएका सेवाग्राहीले प्रयोगशालालगायत विभिन्न सेवा निःशुल्क लिन सक्ने यादवले जानकारी दिए।
अस्पतालका प्रमुख मानिकचन भगतका अनुसार नयाँ प्रयोगशालाबाट सुगर, थाइराइड, पूर्ण रक्त परीक्षण, कलेजो तथा मिर्गौलाको कार्य परीक्षण, मलेरिया, कालाजार लगायत ४० भन्दा बढी प्रकारका साधारण तथा विशेष परीक्षण गरिनेछ। आवश्यकता र सेवाग्राहीको मागअनुसार आगामी दिनमा परीक्षणको दायरा थप विस्तार गर्ने तयारी रहेको उनले बताए।
रानी अस्पतालले पछिल्लो समय उपचार सेवासँगै अन्य स्वास्थ्य सुविधासमेत विस्तार गर्दै आएको छ। अस्पतालमा २४ घण्टे प्रसूति सेवा, निःशुल्क फिजियोथेरापी, विद्युतीय मुटु परीक्षण, गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे तथा पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत सेवा उपलब्ध रहेको महानगरका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताए।
प्रयोगशाला सञ्चालनमा आएसँगै रानी अस्पतालमा उपचारका लागि आउने बिरामीले रोग पहिचानका लागि आवश्यक स्वास्थ्य परीक्षणसमेत एउटै स्थानबाट सहुलियत दरमा गराउन सक्ने भएका छन्। महानगरपालिकाले रानी अस्पतालको सेवा विस्तार गर्दै दक्षिणी क्षेत्रसहित समग्र महानगरवासीको स्वास्थ्य सेवामा पहुँच बढाउने लक्ष्य लिएको जनाएको छ।
