काठमाडौँ । जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरिरहेको छ। समितिमा प्राप्त राहत सामग्री एकीकृत रूपमा सङ्कलन गरी आवश्यकताका आधारमा विभिन्न होल्डिङ सेन्टरमा पठाउने गरिएको छ। नुवाकोटमा विदुर नगरपालिकामा नौ, किस्पाङ गाउँपालिकामा दुई तथा सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा एक–एक गरी १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार दाता तथा इच्छुक व्यक्तिले उपलब्ध गराउने राहत सामग्री एकद्वार प्रणालीमार्फत समितिले सङ्कलन गरिरहेको छ। सङ्कलित सामग्री आवश्यकताका आधारमा सम्बन्धित होल्डिङ सेन्टरमा पठाउने गरिएको छ। सडक पहुँच नभएका स्थानमा भने हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ।
स्थानीय तहले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडितका लागि खाना र बासको व्यवस्था मिलाइरहेका छन्। होल्डिङ सेन्टरमै स्वास्थ्य जाँच र परिवारसँग पुनर्मिलनको व्यवस्था पनि गरिएको छ। बाढीबाट भएको जनधनको क्षतिको विवरण सङ्कलनसँगै प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम भइरहेको स्थानीय तहले जनाएको छ।
राहत सामग्री सङ्कलन तथा वितरणलाई एकद्वार प्रणाली बनाउने भनिए पनि केही दाता तथा व्यक्तिले सहज पहुँच भएका होल्डिङ सेन्टरमा पुगेर आफैँ राहत सामग्री वितरण गरिरहेका छन्। यसका कारण सबै होल्डिङ सेन्टरमा समान रूपमा राहत सामग्री पुग्न सकेको छैन। विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेका अनुसार त्यहाँ तत्कालका लागि पर्याप्त राहत सामग्री पुगेको छ। उनले अन्य होल्डिङ सेन्टरमा पनि राहत सामग्री पुर्याउन दातालाई आग्रह गरेका छन्।
हाल राहत सामग्रीका रूपमा चामल, दाल, चाउचाउ, बिस्कुटलगायत खाद्य सामग्री धेरै प्राप्त भइरहेको छ। खाद्य सामग्रीको तुलनामा लत्ताकपडा भने कम प्राप्त भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। विदुर नगरपालिकाको बेत्रावती, त्रिशूली, ढुङ्गे, सिमचौर र देवीघाट क्षेत्र बाढीबाट बढी प्रभावित भएका छन्। किस्पाङ गाउँपालिकाको शान्तिबजार, नयाँ पुल र मैलुङ क्षेत्रका बस्ती पनि प्रभावित भएका छन्। बेलकोटगढी नगरपालिकाका ठूलो खोला, बुधसिहघाट, रातमाटे, कोलचौर, केउरेनी र कोल्पुटार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ।
सूर्यगढी गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा नुवाकोट र रसुवाका विभिन्न स्थानबाट बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थान खोज्दै आएका मानिसलाई आश्रय दिइएको छ। सदरमुकाम विदुरतर्फका क्षेत्रमा राहत वितरण तुलनात्मक रूपमा सहज भए पनि त्रिशूली नदी पारिका क्षेत्रमा राहत पुर्याउन कठिनाइ भइरहेको छ। केही संस्थाले ड्रोनमार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्याइरहेका छन्।
नदी पारिका प्रभावित बस्ती विदुर नगरपालिकाका वडा नं. १, ३, ६, ७, ९ र १२ मा पर्छन्। वडा नं. १ को त्रिशूली बजार, वडा नं. ३ को खड्गभञ्ज्याङका विभिन्न बस्ती, वडा नं. ६ को चैनपुर आसपास, वडा नं. ७ को तुप्चेका बस्ती, वडा नं. ९ को सिलट्याङ्की क्षेत्र र वडा नं. १२ को चारघरेका विभिन्न स्थान बाढीबाट प्रभावित भएका छन्। सदरमुकामदेखि त्रिशूली नदी पारि सात वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन्।
तादी र कोल्पुखोलाका पुल बाढीले बगाएपछि बेलकोटगढी–७ स्थित महादेव माध्यमिक विद्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरसम्म राहत सामग्री पुर्याउन समेत हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ। शनिबार जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय छलफलमा स्थानीयले नदी पारिका क्षेत्रमा राहत सामग्री वितरणलाई प्राथमिकता दिन संघीय सरकारसँग आग्रह गरेका थिए।
पुल बगेपछि नदी वारि र पारि विद्यालय जाने बालबालिका चार दिनदेखि घरपरिवारसँग पुनर्मिलन हुन नसकेको अभिभावकले बताएका छन्। बाढीप्रभावितलाई लक्षित गरी होल्डिङ सेन्टरमै स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ। त्रिशूली अस्पतालसँग यातायात सम्पर्क विच्छेद भएको अवस्थामा पीडितको शारीरिक तथा मानसिक अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
नुवाकोटमा बाढीबाट मृत्यु तथा बेपत्ता भएकाको यकिन तथ्याङ्क अझै सङ्कलन हुन सकेको छैन। शनिबार पहिचान नभएका शव व्यवस्थापनबारे सरोकारवालाबीच छलफल भएको थियो। छलफलमा प्रमुख जिल्ला अधिकारी रेग्मीले करिब तीन सय शव व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख बिपीन रेग्मीका अनुसार शनिबारसम्म ८२१ जना बाढीमा परी बेपत्ता भएको निवेदन प्राप्त भएको छ।
यसैबीच, आइतबार बिहान पनि त्रिशूली नदीको जल सतह बढेपछि नदी किनारमा रहेका शव व्यवस्थापनमा थप चुनौती देखिएको छ।
