विराटनगर | हेरिटेज इन्टरनेसनल स्कुलको बाल क्लबका विद्यार्थीहरूले बाढीपीडितको सहयोगार्थ रु. २६,१३१/- (छब्बीस हजार एक सय एकतीस रुपैयाँ) सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
बाल क्लबका विद्यार्थीहरूकै पूर्ण पहल तथा नेतृत्वमा “माई वान डेज फुड एक्सपेन्स फर फ्लड रिलिफ ” (बाढी राहतका लागि मेरो एक दिनको खाजा खर्च) नामक अभियान सञ्चालन गरिएको थियो। देशका विभिन्न भागमा बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूतर्फ सहानुभूति र सामाजिक उत्तरदायित्व प्रकट गर्दै विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च कटौती गरेर यो रकम सङ्कलन गरेका हुन्।
बाल क्लबकी अध्यक्ष अभिलाषा दाहाल, सचिव नित्यन्त मल्लिक, पदाधिकारीहरू शषिम पोखरेल, गोविन्द गोयल, एरेन खतिवडा, आरभ कर्ण, श्रिया अग्रवाल, एन्जल पोद्दार, सञ्जना कर्ण, लक्ष्य थापा, प्रिन्सा रेग्मी लगायत क्लबका अन्य सक्रिय सदस्य तथा विद्यार्थीहरूले यस सामाजिक कार्यको सम्पूर्ण संयोजन र नेतृत्व लिएका थिए।
बाल क्लबका पदाधिकारीहरूका अनुसार बालबालिकामा सेवा भावना, मानवीय संवेदना र सामाजिक दायित्वको बोध गराउने उद्देश्यले विद्यार्थी तहबाटै यो अभियान सुरु गरिएको हो। सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको र बालबालिकाहरूको यो सानो प्रयासले विपद्को कठिन घडीमा बाढीपीडितहरूका लागि महत्त्वपूर्ण राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
