काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढी मनसुनी वर्षा वा बादल फाटेर नभई हिमपहिरोले लेन्दे नदी थुनिएर आएको जल तथा मौसम विज्ञान विभाग र विज्ञहरूले प्रारम्भिक आकलन गरेका छन्।
विभागका अनुसार बाढी प्रभावित रसुवा क्षेत्रमा पछिल्लो २४ घण्टामा ७ मिलिमिटर वा सोभन्दा कम मात्र वर्षा रेकर्ड भएको थियो। वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले वर्षा निकै न्यून रहेकाले यसलाई मनसुनी वर्षाको परिणाम मान्न नसकिने स्पष्ट पारेका छन्।
वैज्ञानिकहरूको प्रारम्भिक अध्ययनअनुसार हिमाली क्षेत्रमा भएको जटिल ‘चेन रियाक्सन’का कारण यो घटना भएको हो।
हिउँ र चट्टानसहितको ठूलो हिमपहिरोले लेन्दे नदी थुनेर अस्थायी प्राकृतिक बाँध बनाएको र पछि उक्त बाँध फुट्दा वा माथिबाट पानी ओभरफ्लो भएर तल्लो क्षेत्रको भोटेकोसी नदी प्रणालीमा अचानक ठूलो बाढी आएको अनुमान गरिएको छ। काठमाडौं विश्वविद्यालयका हिमनदीविद् रिजनभक्त कायस्थका अनुसार नेपाल र चीनका वैज्ञानिकहरूबीच भएको छलफलले पनि लेन्दे नदी थुनिएको तथ्यतर्फ नै संकेत गरेको छ।
बाढी आउनुअघि बुधबार बिहान तिब्बती क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प रेकर्ड भएकाले कम्पनका कारण हिमपहिरो वा पहिरो खसेर नदी थुनिएको हुनसक्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ। यद्यपि, सोही भूकम्पका कारण हिमपहिरो खसेको हो/होइन भन्नेबारे वैज्ञानिकहरू अझै निश्चित भइसकेका छैनन्।
यसैबीच, प्रारम्भिक चरणमा हिमताल फुटेर बाढी आएको अडकल गरिए पनि हालसम्म कुनै हिमताल फुटेको वा सुकेको प्रमाण फेला परेको छैन। भूगर्भविद् रञ्जनकुमार दाहालका अनुसार पहिल्यै बनेको हिमताल नफुटे पनि हिमपहिरोले नदी थुनेर बनेको अस्थायी ताल फुट्दा पनि यत्तिको विनाशकारी बाढी आउन सक्छ।
हाल नेपाल तथा विदेशी अनुसन्धानकर्ताहरू भूकम्प, हिमपहिरो र नदी थुनिएको समयबीचको अन्तरसम्बन्ध यकिन गर्न स्याटेलाइट डेटा र स्थलगत अध्ययनमा जुटिरहेका छन्।
