विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले विश्व आदिवासी दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै कोशी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतापूर्ण समृद्ध प्रदेश भएको उल्लेख गरेका छन्।
सदियौँदेखि विभिन्न आदिवासी जनजाति समुदायले आफ्ना मौलिक भाषा, संस्कृति, संस्कार, कला र जीवनशैलीको संरक्षण गर्दै नेपालको सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन ठूलो योगदान पुर्याएको उनले बताएका छन्।
नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय, समावेशिता र सांस्कृतिक अधिकार सुनिश्चित गर्न कोशी प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ। प्रदेशमा बसोबास गर्ने सबै जातजाति, भाषा र संस्कृतिको पहिचान, संरक्षण र विकासका लागि सरकारले विभिन्न नीति, कार्यक्रम तथा योजनाहरूमार्फत काम गरिरहेको मुख्यमन्त्री कार्कीले स्पष्ट पारेका छन्।
प्रदेशको विविधतालाई शक्ति र सम्पत्तिका रूपमा स्वीकार गर्दै सबै समुदायको समान सहभागिता, सम्मान र अवसर सुनिश्चित गर्नु साझा दायित्व भएको उनले बताएका छन्। आदिवासी जनजातिको मौलिक ज्ञान, सिप, कला र परम्परागत अभ्यासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके सांस्कृतिक सम्पदा अझ जीवन्त र समृद्ध बन्ने उनको विश्वास छ।
यस दिवसले विविधताबीच एकता, पारस्परिक सम्मान, सहअस्तित्व र सामाजिक सद्भावलाई थप मजबुत बनाउन योगदान पुर्याउने अपेक्षा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार अझ प्रभावकारी ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

