विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारमा नेपाली कांग्रेसले पुर्याएको योगदान र निरन्तरको सहकार्यप्रति उच्च सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ।
नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको समग्र विकास, समृद्धि र सुशासनका लागि कांग्रेससँगको यात्रा अत्यन्तै फलदायी र महत्वपूर्ण रहेको बताउनुभयो।
कांग्रेसका मन्त्रीहरूप्रति आभार प्रकट गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रह्यो। यो मेरो लागि महत्वपूर्ण विषय हो।” उहाँले आगामी दिनमा पनि प्रदेशको विकास र सुशासनका एजेन्डामा नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो।
साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि लोकतान्त्रिक शक्तिहरूबिचको सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा पनि कांग्रेससँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
रिक्त मन्त्रालय मुख्यमन्त्री आफैँले सम्हाल्ने
नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त हुन पुगेका मन्त्रालयहरूको जिम्मेवारी मुख्यमन्त्री कार्कीले हाल आफैँसँग राख्नुभएको छ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित कुल ५ जना मन्त्रीहरूको सहभागिता रहेको थियो।
मन्त्रीहरू बाहिरिएसँगै प्रदेश मन्त्रिपरिषद् चाँडै पुनर्गठन गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
