काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा सञ्चालन हुने भएका छन्। कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना गर्ने तय भएको छ भने बाँकी खेल कर्णालीका अन्य जिल्ला र छिमेकी लुम्बिनी प्रदेशमा सञ्चालन गरिनेछ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ। मंसिर २७ गते समापन गर्ने कार्यतालिका तय गरिएको छ।
औपचारिक उद्घाटन हुनुअघि नै मंसिर ८ गतेदेखि केही खेलका प्रतिस्पर्धा सुरु हुनेछन्। पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू उद्घाटनअघि नै सञ्चालन गर्ने तयारी छ।
सुर्खेतमा २३ खेलको प्रतिस्पर्धा
प्रतियोगिताका अधिकांश ठूला मैदानी, इन्डोर तथा मार्सल आर्ट्सका खेल सुर्खेतमा हुनेछन्।
सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङ प्रतियोगिता सञ्चालन गरिनेछ। त्यस्तै कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङ पनि यहीँ आयोजना हुनेछन्।
ब्याडमिन्टन, टेबलटेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, ईस्पोर्ट्स र सेपाकताक्राका खेल पनि सुर्खेतमै हुने तय भएको छ।
अन्य जिल्लामा पनि खेल सञ्चालन
कर्णाली प्रदेशका सबै जिल्लामा पर्याप्त खेल पूर्वाधार उपलब्ध नभएका कारण प्रतियोगिताका केही खेल अन्य जिल्लामा बाँडफाँट गरिएको छ।
दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो तथा कुस्ती र पश्चिम रुकुममा शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिनेछ।
यसअनुसार कर्णाली प्रदेशका सुर्खेतसहित पाँच जिल्लामा प्रतियोगिताका खेल सञ्चालन हुनेछन्।
लुम्बिनीका दुई जिल्लामा पनि प्रतिस्पर्धा
कर्णालीमा आवश्यक खेल पूर्वाधारको अभाव भएपछि केही प्रतियोगिता छिमेकी लुम्बिनी प्रदेशमा सञ्चालन गर्न लागिएको हो।
बाँकेको नेपालगन्जमा पौडी र सुटिङ प्रतियोगिता आयोजना हुनेछ भने बर्दियामा टेनिस र खो–खोका खेल सञ्चालन गरिनेछ।
यसरी दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा र चार खेल लुम्बिनी प्रदेशका बाँके तथा बर्दियामा आयोजना हुनेछन्।
भौगोलिक विकटता र पूर्वाधारको सीमितताबीच प्रतियोगिता व्यवस्थापन गर्न आयोजकले विभिन्न जिल्लामा खेल बाँडफाँट गरेको हो।
