काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायले विशेष परिस्थितिलाई ध्यानमा राख्दै मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसअन्तर्गत मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
व्यवस्थापन संकायको डिन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार शुक्रबार सञ्चालन हुने उक्त विषयको परीक्षा सम्बन्धित ११ परीक्षा केन्द्रमा मात्र स्थगित गरिएको हो। स्थगित परीक्षाको नयाँ मिति र तालिका यथाशीघ्र सार्वजनिक गरिने जनाइएको छ।
डिन कार्यालयले अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने स्पष्ट गर्दै परीक्षार्थीलाई सम्बन्धित क्याम्पसबाट आवश्यक जानकारी लिन आग्रह गरेको छ।
स्थगित गरिएका परीक्षा केन्द्रमा जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाहीका बलाही क्याम्पस र जनज्योति बहुमुखी क्याम्पस, सिरहाका सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस र जेएस मुरारका बहुमुखी क्याम्पस, सप्तरीका श्री महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस र नेसनल पिपुल कलेज, रौतहटका जनज्योति बहुमुखी क्याम्पस र गौरिशंकर यादव रौतहट क्याम्पस, बाराको सिमरा कलेज तथा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस रहेका छन्।
