विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा मृतकको संख्या दुई पुगेको छ। उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो।
उनको पेटमा गोली लागेर गम्भीर घाइते भएका जयप्रकाशको शल्यक्रिया गरिएको भए पनि अवस्था नाजुक रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको थियो। यसअघि घटनाकै क्रममा गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति मृत्यु भएको थियो।
आइतबार राति दुई पक्षबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर १० जना घाइते भएका थिए। जसमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचाररतमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड र प्रदर्शन भएका थिए। अहिले जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गए पनि प्रशासनले जारी गरेको कर्फ्यु आदेश भने अझै यथावत् रहेको प्रहरीले जनाएको छ।
