विराटनगर। सुनसरी जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थापछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका अधिकांश संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईस्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थालाई सामान्य बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा गस्ती तथा सुरक्षा निगरानीलाई तीव्र बनाएका छन्।
प्रजिअका अनुसार धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका तथा इटहरी उपमहानगरपालिकाका केही वडा बाहेक सुनसरीका अधिकांश क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। इटहरीमा सम्पूर्ण उपमहानगरमा कर्फ्यु नभई केही सीमित वडाहरूमा मात्र कर्फ्यु आदेश लागू गरिएको जनाइएको छ।
घटनापछि जिल्लाका विभिन्न स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेका छन्। बैठकहरूले धार्मिक तथा सामुदायिक सद्भाव कायम राख्न, अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री साझा नगर्न तथा सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेका छन्। साथै, स्थानीय प्रशासनसँग समन्वय गर्दै शान्ति सुरक्षा कायम राख्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र सर्वसाधारणलाई सहयोग गर्न अपिल गरिएको छ।
प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सुरक्षा निकायको निर्देशन पालना गर्न तथा कुनै पनि उक्साहट वा अफवाहबाट प्रभावित नहुन अनुरोध गरेको छ। जिल्लाको सुरक्षा अवस्थालाई निरन्तर अनुगमन गर्दै आवश्यकतानुसार थप निर्णय गरिने प्रशासनले जनाएको छ।
