देवानगञ्ज घटनाले म दुःखी छु, दोषीलाई कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री बालेन्द्र साह
प्रधानमन्त्री बालेन्द्र साहले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितलाई न्याय दिलाउने र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
मंगलबार आफ्नो फेसबुक पेजमार्फत प्रधानमन्त्री साहले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले मृतकका परिवारले भोग्नुपरेको पीडालाई सरकारले महसुस गरेको उल्लेख गर्दै छिट्टै न्याय र क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्।
प्रधानमन्त्री साहले सुनसरीको सामान्य घटनाले आक्रोशको रूप लिएर मानवीय क्षति हुनु दुःखद भएको उल्लेख गरेका छन्। घटनाले समाजमा डर, अविश्वास र विभाजनको अवस्था सिर्जना गरेको भन्दै यस्तो परिस्थिति कुनै पनि मानवताप्रेमीले नचाहने बताएका छन्।
उनले सरकारले घटनाको सुरुदेखि नै सक्रियता देखाए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्। सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु तथा घाइते हुनु कुनै पनि हालतमा सामान्य विषय नभएको उल्लेख गर्दै त्यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनअनुसार आवश्यक कारबाही गरिने जानकारी दिएका छन्।
प्रधानमन्त्री साहले सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको जनाउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले जिम्मेवार र प्रभावकारी कदम चाल्ने बताएका छन्। सरकारले दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिलाउने विषयमा नागरिकलाई विश्वास दिलाउने उनको भनाइ छ।
उनले मृतकका परिवार, घाइते तथा उनीहरूका आफन्तलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस अवधिसम्म सबैलाई संयम अपनाउन आग्रह गरेका छन्। आक्रोश, प्रतिशोध र उत्तेजनालाई नियन्त्रणमा राख्न तथा हिंसात्मक गतिविधिमा सहभागी नहुन उनले सबैसँग अपिल गरेका छन्।
प्रधानमन्त्री साहले मानिसको पहिलो धर्म मानव जीवनको रक्षा गर्नु भएको उल्लेख गर्दै सरकारले पनि नागरिकको सुरक्षा, दोषीमाथि कारबाही तथा पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने दायित्व पूरा गर्ने बताएका छन्।
साथै उनले सामाजिक सद्भाव, आपसी प्रेम र सम्मान कायम राख्न आग्रह गर्दै भ्रामक सूचना र उत्तेजनाबाट टाढा रहन तथा शान्ति र संयमताका साथ परिस्थिति सामना गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन्।