विराटनगर । भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक भ्रमणको निम्तो पठाएको सार्वजनिक भएपछि नेपालको कूटनीतिक वृत्तमा यसको अर्थ र समयलाई लिएर विशेष चासो व्यक्त हुन थालेको छ। नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई परम्परागत रूपमा नेपाल–भारत सम्बन्धको दिशा र प्राथमिकतासँग जोडेर हेरिने भएकाले यस निम्तोलाई सामान्य औपचारिकताभन्दा बढी महत्वका साथ विश्लेषण गर्न थालिएको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकिएको जानकारी दिएका हुन्। उनले भ्रमणको मिति वा कार्यसूचीबारे भने कुनै विवरण सार्वजनिक गरेनन्।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि उनको पहिलो औपचारिक विदेश भ्रमण कुन मुलुकबाट सुरु हुन्छ भन्ने विषय लामो समयदेखि चासोको विषय बनेको थियो। भारतबाट आएको पछिल्लो निम्तोसँगै प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय भ्रमण भारतबाटै हुने संकेत देखिएको कूटनीतिक विश्लेषकहरूको भनाइ छ।
यो निम्तो आएको समयलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा गएका थिए। उनी निकट भविष्यमा चीन भ्रमणको तयारीमा रहेको चर्चा भइरहेका बेला भारतले प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो दिएको विषयलाई नेपालको छिमेकी कूटनीतिसँग जोडेर हेरिएको छ।
नेपालले परम्परागत रूपमा भारत र चीनबीच सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्ने नीति अवलम्बन गर्दै आएको छ। त्यसैले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणले दुई छिमेकी मुलुकसँगको सम्बन्ध व्यवस्थापन र आगामी कूटनीतिक प्राथमिकताबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।
यसैबीच पत्रकार सम्मेलनका क्रममा नेपालबाट कुनै विशेष दूत भारत पुगेर विभिन्न सरोकारवालासँग भेटवार्ता गरेको विषयमा सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले त्यसबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति, एजेन्डा र उच्चस्तरीय भेटवार्ताका विषयमा भने दुवै देशले हालसम्म थप औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।
