विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपपछि गृह मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सरुवा गरेको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउँदै उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाउने निर्णय गरेको छ।
यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौंमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइने भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय भएको छ।
सशस्त्र प्रहरीतर्फ पनि नेतृत्व परिवर्तन गरिएको छ। सुनसरीमा कार्यरत एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई खटाइएको छ। कप्तानगञ्जमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई पठाउने निर्णय भएको छ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।
घटनाको वास्तविकता छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
