Premier Cables

अपराध राष्ट्रिय समाचार

खुला सीमाको फाइदा उठाउदै पाकिस्तानी, रोहींग्या र सोमालियाली नागरिक नेपाल प्रवेश बढ्यो :  महानिरीक्षक कार्की

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०८, २०८३  | साँझ ७:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र सीमापार अपराधमा नेपालको कानुनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि प्रमुख चुनौती बनेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा प्रहरीका चुनौतीबारे जानकारी दिँदै महानिरीक्षक कार्कीले भारत हुँदै रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली नागरिक नेपाल प्रवेश गर्ने क्रम बढेको बताए ।

विज्ञापन

भारतबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा समूह बनाएर बस्ने प्रयास गर्ने विदेशी नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने गरिएको उनले जानकारी दिए । त्यस्ता व्यक्तिमध्ये केही लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको पाइएको पनि उनले बताए ।

‘सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा रोहिङ्ग्या शरणार्थीको विषय पनि चुनौतीका रूपमा देखिएको छ । भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोवास गर्ने प्रयास गर्ने रोहिङ्ग्यासहित अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ,’ उनले भने, ‘उनीहरूमध्ये केही लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको पाइएको छ ।’

दक्षिणी सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपाली नागरिक भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी पनि महानिरीक्षक कार्कीले समितिलाई दिए । उनीहरूको रिहाइका लागि प्रहरी–प्रहरी समन्वय र कूटनीतिक पहल भइरहेको उनले बताए ।

‘हालै दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका नेपाली नागरिकको विषयमा प्रहरी–प्रहरी समन्वय र कूटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘कानुनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा छन् ।’

सीमापार हुने कतिपय अपराधमा नेपालको कानुनले बाह्य क्षेत्राधिकार नदिँदा अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको पनि उनले बताए । विशेषगरी चोरीजस्ता मुद्दामा यस्तो कानुनी जटिलता देखिने गरेको उनको भनाइ थियो ।

महानिरीक्षक कार्कीले खुला सीमाका कारण अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी, अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, अनलाइन स्क्यामिङ, मानव बेचबिखन, अवैध वैदेशिक रोजगारी, बैंकिङ ठगी र अनलाइन सट्टेबाजीजस्ता गतिविधि चुनौतीका रूपमा रहेको बताए ।

वैदेशिक रोजगारीको प्रलोभनमा हुने ठगी तथा ओटीपीमार्फत हुने बैंकिङ ठगीका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाउनुपरेको उनले बताए ।

सीमा सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले नियमित गस्ती, निगरानी र संयुक्त सुरक्षा अभियान सञ्चालन गर्दै आएको उनले जानकारी दिए । सीमा क्षेत्रमा ड्रोन, स्क्यानर तथा तालिमप्राप्त कुकुर (के–९) जस्ता प्रविधिको प्रयोग बढाइएको पनि उनले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka