विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करीमा मिलेमतो गरेको र घुमुवा परिचालन गरी अवैध असुली गरेको आरोपमा कोशी प्रदेशमा कार्यरत सशस्त्र प्रहरी बलका पाँच अधिकृतमाथि आन्तरिक छानबिन सुरु भएको छ ।
छानबिनका लागि सशस्त्र प्रहरी बलले झापा, सुनसरी र इलाममा कार्यरत एसपीदेखि इन्स्पेक्टरसम्मका पाँच अधिकृतलाई जिम्मेवारीबाट हटाएर मुख्यालय हलचोक बोलाएको हो ।
मुख्यालय तानिएकामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापाका प्रमुख एसपी अम्बिकाप्रसाद जोशी, नम्बर ४ हेडक्वार्टर सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्की, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी शम्शेर कार्की, नम्बर १ हेडक्वार्टर इलामका डीएसपी लोकनाथ उप्रेती र सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द छन् ।
मुख्यालय स्रोतका अनुसार उनीहरूमाथि घुमुवा परिचालन गरी नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न वस्तु तथा लागुऔषधको तस्करीमा सहजीकरण गरेको र त्यसबापत रकम असुलेको आरोप छ । सोही आरोपका आधारमा अनुसन्धान अघि बढाइएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले केही जिल्ला तथा युनिटका इन्चार्जसहितका कर्मचारीमाथि गम्भीर प्रकृतिका गुनासा आएपछि मुख्यालय बोलाएर छानबिन भइरहेको पुष्टि गरे ।
उनका अनुसार सूचना, गुनासा तथा आन्तरिक अनुगमनका आधारमा अनुशासन उल्लङ्घन र नीति–नियमविपरीत गतिविधिमा संलग्न भएको आशंका देखिए अनुसन्धान अघि बढाउने गरिएको छ । आरोप पुष्टि भए विभागीय कारबाही हुने र पुष्टि नभए सम्बन्धित कर्मचारीलाई पुनः जिम्मेवारीमा फर्काइने उनले बताए ।
स्रोतका अनुसार झापाका एसपी अम्बिकाप्रसाद जोशीमाथि सशस्त्र प्रहरीका हवल्दार हरि मगरको बयानका आधारमा अनुसन्धान अघि बढाइएको हो । मगर यसअघि झापामा घुमुवाका रूपमा परिचालित थिए । उनले तस्करीबाट संकलित रकम कसलाई बुझाउने गरिएको थियो भन्ने विषयमा बयान दिएको स्रोतको दाबी छ ।
मगरले आफू कार्यरत ३८ नम्बर रिजर्भ गणका प्रमुख एसपी दिनेश बस्नेतलाई समेत रकम बुझाउने गरेको दाबी गरेको बताइए पनि एसपी बस्नेतलाई भने हालसम्म अनुसन्धानको दायरामा ल्याइएको छैन ।
त्यस्तै, सुनसरीका एसपी श्यामकुमार कार्कीमाथि सशस्त्र प्रहरीका जवान पारस यादवसहितका कर्मचारीको बयानका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतको भनाइ छ । घुमुवा परिचालन गरी सीमा क्षेत्रमा हुने तस्करीबाट आर्थिक लाभ लिएको आरोप उनीमाथि लागेको बताइएको छ । यादवलाई यसअघि नै मुख्यालय बोलाएर बयान लिइएको स्रोतले जनाएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी शम्शेर कार्कीमाथि पनि सीमा क्षेत्रमा हुने तस्करीलाई सहजीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ । हरिपुर नाकाबाट गाँजा, लागुऔषध, लत्ताकपडा, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अवैध ओसारपसार हुने गरेको गुनासोका बीच उनीमाथि छानबिन सुरु गरिएको हो ।
स्रोतका अनुसार डीएसपी कार्की यसअघि काँकडभिट्टामा कार्यरत रहँदा पनि यस्तै प्रकृतिको आरोपमा परेका थिए ।
इलामका डीएसपी लोकनाथ उप्रेतीमाथि भने झापाको काँकडभिट्टामा कार्यरत रहँदा वरिष्ठ हवल्दार केशव गुरुङलाई घुमुवाका रूपमा परिचालन गरी अवैध असुली गरेको आरोप लागेको छ । मुख्यालयले यसअघि गुरुङलाई बोलाएर बयान लिएपछि उप्रेतीलाई पनि अनुसन्धानका लागि बोलाएको स्रोतले जनाएको छ ।
सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्दमाथि लागुऔषध तथा अन्य मालवस्तुको तस्करीमा संलग्न समूहसँग साँठगाँठ गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका कारण झापा र सुनसरीमा नयाँ प्रमुख खटाइएको छैन । हाल झापामा डीएसपी मदन रसाइली र सुनसरीमा डीएसपी कृष्ण श्रेष्ठले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
यता, झापाका एसपी अम्बिकाप्रसाद जोशीले आफूलाई छानबिनका लागि नभई तालिम, गोष्ठी तथा प्रशासनिक कामका लागि मुख्यालय बोलाइएको दाबी गरेका छन् । सञ्चारमाध्यममा आएका समाचारले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै उनले आफूमाथिका आरोप अस्वीकार गरेका छन् ।
सुनसरीका एसपी श्यामकुमार कार्कीले पनि केही विषय बुझ्नका लागि आफूलाई मुख्यालय बोलाइएको बताएका छन् । तस्करी वा अवैध असुलीमा संलग्न रहेको आरोप निराधार भएको दाबी गर्दै उनले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि कानुनअनुसार काम गरेको बताएका छन् ।
पछिल्लो समय झापा र सुनसरीका सीमा क्षेत्रमा तस्करी बढेको भन्दै स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणबाट गुनासो हुँदै आएको छ । सीमा सुरक्षाको जिम्मेवारीमा रहेका अधिकारीमाथि नै छानबिन सुरु भएपछि सुरक्षा संयन्त्रको प्रभावकारिता र पारदर्शितामाथि समेत प्रश्न उठेको छ ।
सशस्त्र प्रहरी बलले भने सीमा क्षेत्रमा हुने तस्करी तथा अन्य अवैध गतिविधिप्रति शून्य सहनशीलताको नीति रहेको जनाएको छ । अनुसन्धानबाट दोषी ठहरिने जोसुकैलाई विभागीय तथा कानुनी कारबाही गरिने बलको भनाइ छ ।
