Premier Cables
Premier Steel

अर्थ राष्ट्रिय

गत आवमा वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०७, २०८३  | साँझ ६:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ । गत आवमा रु २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई उक्त आकारमा पुगेको हो । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत आवमा समग्र वैदेशिक व्यापारमा वृद्धि भएजस्तै व्यापार घाटासमेत बढेको छ । अघिल्लो आवको तुलना व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेको छ । गत आवमा मुलुकको व्यापार घाटा बढेर रु १७ खर्ब ८१ अर्ब आठ करोड पुगेकामा अघिल्लो आवमा यो रकम रु १५ खर्ब २७ अर्ब नौ करोड थियो । विभागद्वारा सार्वजनिक विवरणअनुसार आव २०८१/८२ को तुलनामा गत आवमा आयात १६ दशमलव २० प्रतिशतले बढेको छ । अघिल्लो आवमा रु १८ खर्ब चार अर्ब १२ करोड बराबरको आयात भएकामा गत आवमा रु २० खर्ब ९६ अर्ब ३७ करोड पुगेको छ । त्यस्तै, अघिल्लो आवको तुलनामा गत आवमा निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबरको निर्यात भएकामा गत वर्ष रु तीन खर्ब १५ अर्ब २९ करोड बराबर पुगेको विभागले जनाएको छ । आव २०८१/८२ मा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ६९ प्रतिशत रहेकामा यस्तो हिस्सा गत आवमा सामान्य बढेर ८६ दशमलव ९३ प्रतिशत पुगेको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३ दशमलव ३१ प्रतिशतबाट घटेर गत आवमा १३ दशमलव शून्य सात प्रतिशतमा सीमित भएको छ । सार्वजनिक विवरणअनुसार नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको छ । गत आवमा रु एक खर्ब ७२ अर्ब ४२ करोड बराबरको डिजेल आयात भएको छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा रहेको छ । जसअन्तर्गत रु एक खर्ब ३२ अर्ब ७६ करोड बराबर भटमासको कच्चा तेल आयात भएको छ । यसैगरी, पेट्रोल रु ७७ अर्ब २६ करोड, एलपी ग्यास रु ६० अर्ब २८ करोड, फलाम तथा स्टिल उद्योगमा प्रयोग हुने अर्धप्रशोधित फलाम रु ५८ अर्ब ५२ करोडको तथा स्मार्टफोन रु ४८ अर्ब ६९ करोड बराबरको आयात भएको विभागले जनाएको छ । त्यस्तै, गत आवमा नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा बढी रहेको छ । विभागद्वारा सार्वजनिक तथ्याङ्कअनुसार स्वदेशबाट रु एक खर्ब २८ अर्ब ७४ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । यसैगरी अलैँची रु १२ अर्ब ६४ करोड, ऊनीको गलैँचा रु १० अर्ब ३८ करोड, सूर्यमुखी तेल रु आठ अर्ब ९४ करोड र जुटका काँचो कपडा रु सात अर्ब १४ करोड बराबरको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । गत आवमा छिमेकी मुलुक भारतबाट मात्रै रु १२ खर्ब १० अर्ब ६० करोड बराबरको वस्तु आयात गरेको छ भने रु दुई खर्ब ५८ अर्ब ६५ करोड बराबरको निर्यात गरेको छ । यसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै रु नौ खर्ब ५१ अर्ब ९५ करोडभन्दा बढी रहेको देखिन्छ । त्यस्तै, नेपालले चीनबाट रु चार खर्ब २५ अर्ब २४ करोड बराबरका वस्तु आयात गरेकामा रु एक अर्ब ८९ करोड बराबरको वस्तु मात्रै निर्यात गरेको छ । चीनसँगको नेपालको व्यापार घाटा रु चार खर्ब २३ अर्ब ३५ करोड बराबरको छ । सार्वजनिक विवरणअनुसार गत आवमा सबैभन्दा बढी वीरगञ्ज नाकाबाट रु नौ खर्ब ८६ अर्ब ४३ करोड अर्थात् कुल आयातको ४७ दशमलव शून्य पाँच प्रतिशत बराबरको वस्तु आयात भएको छ । त्यस्तै, भैरहवा नाकाबाट रु तीन खर्ब चार अर्ब १७ करोड (१४ दशमलव ५१ प्रतिशत), विराटनगर नाकाबाट रु दुई खर्ब ४१ अर्ब ९६ करोड (११ दशमलव ५४ प्रतिशत) र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु दुई खर्ब तीन अर्ब ५१ करोड (नौ दशमलव ७१ प्रतिशत) बराबरका वस्तु आयात भएका छन् । निर्यातमा पनि वीरगञ्ज नाका अग्रस्थानमा छ । यहाँबाट रु एक खर्ब १४ अर्ब ८५ करोड अर्थात् कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत बराबरका वस्तु विदेश निर्यात भएको छ । त्यस्तै विराटनगर नाकाबाट रु ८८ अर्ब ७२ करोड (२८ दशमलव १४ प्रतिशत) र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु ३७ अर्ब ९४ करोड (१२ दशमलव शून्य तीन प्रतिशत) बराबरका वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa