विराटनगर । कोशी अस्पतालको जग्गा ओगटेर बनाइएका भौतिक संरचनाहरू तत्काल तोडफोड नगरिने अस्पताल प्रशासनले प्रस्ट पारेको छ।
विराटनगरमा एक पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल प्रशासनले जग्गा कब्जा गरेर बनाइएका संरचनाहरू भत्काउनुको सट्टा उचित व्यवस्थापन र व्यवस्थित गरिने जानकारी दिएको हो।
यसअघि अस्पतालले आफ्नो जग्गामा बनेका अनधिकृत संरचनाहरू खाली गर्न सात दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो। अस्पतालको उक्त सूचनापछि सरोकारवाला क्षेत्रमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला प्रशासनले आफ्नो धारणा सार्वजनिक गरेको हो।
अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना गर्ने तर बनेका संरचना नभत्काउने बरु व्यवस्थापन गरिने बताए ।
नेपाल रेडक्रस सोसाइटी, क्षयरोग निवारण संस्था, गणेश मन्दिर र देवकोटा पुस्तकालय जस्ता संस्थाहरूले कोशी अस्पतालको जग्गा ओगटेर भौतिक संरचनाहरू निर्माण गरेका छन्। ती संस्थाहरूले अस्पतालको जग्गामा बनेका संरचनाहरू तेस्रो पक्षलाई भाडामा दिएर रकम समेत असुल गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।


