Premier Cables
Premier Steel

समाचार

देशभर झ्याप्प-झ्याप्प बिजुली जाने समस्या बढेपछि कुलमान घिसिङको खोजी

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २३, २०८३  | राती १०:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशभर पछिल्ला दिनमा पटक–पटक विद्युत् अवरुद्ध हुन थालेपछि उपभोक्ताको गुनासो बढेको छ।

लोडसेडिङ अन्त्य भएको वर्षौं बितिसक्दा पनि झ्याप्प–झ्याप्प बत्ती जाने, लो भोल्टेज हुने र विद्युत् आपूर्ति अविश्वसनीय बन्दै गएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाइरहेका छन्।

बिज्ञापन

विशेषगरी काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लामा बिहान, दिउँसो र बेलुका बारम्बार विद्युत् अवरुद्ध हुने गरेको छ। अत्यधिक गर्मीका बेला हुने यस्तो अवरोधका कारण जनजीवन प्रभावित बनेको छ।

कतिपय स्थानमा राति लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुने तथा न्यून भोल्टेजका कारण विद्युतीय उपकरणसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न समस्या भएको उपभोक्ताहरूको गुनासो छ।

विद्युत् आपूर्तिमा देखिएको अनियमितताप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण र मातहतका निकायलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्। उनले भरपर्दो, सहज र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै समस्या समाधानका लागि कार्यदल गठन गरिएको जानकारी दिएका छन्।

मन्त्री श्रेष्ठका अनुसार कार्यदलले विभिन्न क्षेत्रमा अनुगमन गरिरहेको छ भने हटलाइन नम्बर ११५० र ११५१ मा आउने गुनासालाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ। उनले पुराना तथा जीर्ण प्रसारण र वितरण संरचनाका कारण बढ्दो विद्युत् माग व्यवस्थापनमा चुनौती थपिएको स्वीकार गर्दै दीर्घकालीन समाधानका लागि ठूलो लगानी आवश्यक पर्ने बताएका छन्।

बारम्बारको विद्युत् अवरोधपछि सामाजिक सञ्जालमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको चर्चा पनि बढेको छ। उपभोक्ताले घिसिङको कार्यकालमा विद्युत् व्यवस्थापन प्रभावकारी रहेको भन्दै अहिलेको अवस्थासँग तुलना गरिरहेका छन्।

यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले पनि संघीय संसद्मा झापा लगायतका क्षेत्रमा बढेको विद्युत् कटौती र लो भोल्टेजको समस्या उठाउँदै ‘विद्युत् आपूर्ति प्रणाली व्यवस्थापनका लागि यो मुलुकमा कुलमान घिसिङ नै चाहिने हो कि ?’ भन्ने प्रश्न गरेका थिए। बाँकेको कोहलपुरमा पनि रास्वपाका स्थानीय नेताले सर्वसाधारणले फेरि कुलमान घिसिङलाई सम्झन थालेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशको जडित विद्युत् क्षमता ४,२०० मेगावाट नाघेको छ भने उच्च खपत हुने समयमा माग २,२०० देखि २,३०० मेगावाटको हाराहारीमा छ। प्राधिकरणले रातिको समयमा ६५० मेगावाटभन्दा बढी विद्युत् भारत निर्यात भइरहेको जनाएको छ। उत्पादन पर्याप्त भए पनि वितरण प्रणाली कमजोर हुँदा गुणस्तरीय आपूर्तिमा समस्या देखिएको भन्दै उपभोक्ताले प्रभावकारी व्यवस्थापनको माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa