फायल फोटो
किमाथांका । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण सात परिवार विस्थापित भएका छन्।
शनिबार रातिदेखिको अविरल वर्षाले बस्तीमाथिको जमिन चिरिएपछि तेन्छोङ क्षेत्रका सात परिवारलाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरीका अनुसार प्रभावित परिवारहरूमा कुन्ती राई, धनपूर्ण राई, मङ्गलबहादुर राई, सुकप्रसाद राई, मिरा राई, धनमान राई र अरुणसङ्गम राईका परिवार रहेका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० सदस्यीय टोली घटनास्थलमा परिचालन गरिएको छ। टोलीले प्रभावित क्षेत्रको अनुगमन तथा थप क्षतिको विवरण सङ्कलन गरिरहेको प्रहरीले जनाएको छ।
यसअघि गाउँपालिकाले बाढीपहिरोका कारण सडक, विद्युत् र सञ्चार सेवा प्रभावित हुनुका साथै विद्यालयमा समेत क्षति पुगेको जानकारी दिँदै राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगको पहल गरिरहेको जनाएको छ।


