नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिनुअघि उनको निवासमा छापा मारिएको खुलेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले उनलाई सोमबार दिउँसो सुर्खेतबाट पक्राउ गरेको हो । पक्राउ गर्नुअघि ललितपुरको भैंसेपाटीस्थित निवासमा छापा मारेर केही कागजात नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।
अनुसन्धान टोलीले उनको सेयर कारोबार र सम्पत्तिको स्रोत शंकास्पद देखिएको आधारमा अनुसन्धान अघि बढाइएको बताइएको छ । उनी पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका बेला नियन्त्रणमा लिइएको स्रोतहरूको दाबी छ ।
पक्राउपछि उनलाई काठमाडौंतर्फ ल्याउने तयारी गरिएको छ । उनलाई हवाई वा स्थलमार्गमध्ये उपयुक्त माध्यमबाट राजधानी ल्याउने विकल्पबारे छलफल भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
