फायल फोटो
धनकुटा । धनकुटामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मंगलबार बिहान धनकुटा नगरपालिका–४ स्थित स्कुलडाँडा नजिकै दुर्घटना भएको हो । धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र हिलेबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकल चालक ५५ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएका थिए । सुनसरीको झुम्का स्थायी घर भएका चौधरी पछिल्ला केही वर्षदेखि धनकुटामा बस्दै फर्निचर तथा मिस्त्री व्यवसाय गर्दै आएका थिए ।
गम्भीर घाइते चौधरीको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका–१ हिलेका २८ वर्षीय श्याम तामाङ घाइते भएका छन् । तामाङ धनकुटा जिल्ला अस्पतालको डायलाइसिस वार्डमा कार्यरत कर्मचारी हुन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घटनास्थल नजिकै शारीरिक प्रशिक्षण गरिरहेको नेपाली सेनाको भीमदल गणको टोलीले तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुर्याएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा दुवै मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
