विराटनगर । पूर्वी नेपालका तराई क्षेत्रसहित विराटनगरमा पछिल्ला दिनमा गर्मी बढ्न थालेको छ। चैत महिनादेखि लगातारजसो वर्षा भइरहेकाले यस वर्ष जेठ १५ गतेसम्म अत्यधिक गर्मी महसुस भएको थिएन। तर वर्षा कम भएसँगै तापक्रम बढ्न थालेको हो।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार मनसुन नेपाल भित्रिन अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर रहेकाले आगामी एक सातासम्म गर्मी क्रमशः बढ्ने सम्भावना छ।
उनका अनुसार गर्मीको प्रभाव विशेषगरी तराई–मधेशका जिल्लामा बढी पर्नेछ। “आउँदो एक हप्ता सहज देखिँदैन, तापक्रम निरन्तर बढ्ने संकेत छ। तराई क्षेत्रमा फेरि गर्मीको प्रभाव तीव्र हुने देखिएको छ,” उनले बताएका छन्।
भारतको केरला क्षेत्रमा सोमबार मनसुनी बादल प्रवेश गरे पनि बादलको घनत्व र गति दुवै कमजोर रहेकाले उक्त प्रणाली नेपालसम्म आइपुग्न अझै केही समय लाग्ने अनुमान गरिएको छ।
पछिल्ला दिनमा विभिन्न मौसमी प्रणाली सक्रिय हुँदा देशका विभिन्न स्थानमा वर्षा भएको थियो। वर्षासँगै तापक्रम घटेर मौसम केही शीतल बनेको थियो। तर अब वर्षाको सम्भावना कम हुँदै जाँदा तापक्रम विस्तारै बढ्ने र गर्मीको प्रभाव तीव्र हुने मौसमविद्को अनुमान छ।
