काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने तथा केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको जनाएको छ। यता पहाडी र हिमाली क्षेत्रका केही स्थानमा भने वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल मुलुकको पश्चिमी भूभाग आसपास उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कायम छ।
हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी भूभाग तथा कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले गर्मी बढ्ने तराई क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा वर्षा र चट्याङको जोखिम रहेका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।
