सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा ‘जगद्गुरु श्रीरामानन्दाचार्य गुरुकुल’ सञ्चालनमा आएको छ । गुरुकुलको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका हुन् ।
नेपाल पीठाधीश तथा संरक्षक अनन्त श्री विभूषित जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको अगुवाइमा स्थापना गरिएको गुरुकुल आइतबार आयोजित कार्यक्रममा औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

वैदिक सनातन संस्कार, आधुनिक गुणस्तरीय शिक्षा र आध्यात्मिक जीवनदर्शनलाई समन्वय गरी सञ्चालन गरिएको गुरुकुलमा कक्षा ६ देखि १२ सम्म अंग्रेजी माध्यमबाट अध्ययन गराइने जनाइएको छ । साथै योग, ध्यान, वेद–व्याकरण, संस्कार, संस्कृति तथा अनुशासित गुरुकुलीय जीवनशैलीमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने लक्ष्य रहेको स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले हरेक विद्यालयमा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा समावेश गर्नुपर्ने धारणा राखे । उनले धर्ममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्दै युवापुस्तालाई धार्मिक र संस्कारी बनाउन आवश्यक रहेको बताए ।
