विराटनगर । भारतका पाँच राज्यमा हालै सम्पन्न विधानसभा निर्वाचनमा पश्चिम बंगाल र तमिलनाडुका परिणामले सबैको ध्यान खिचेको छ।
केरलामा कांग्रेससहितको गठबन्धन बहुमत हासिल गर्ने देखिन्छ भने आसाम र पुडुचरीमा भारतीय जनता पार्टी (भाजपा)ले फेरि सरकार बनाउने पक्का भएको छ। तर सबैको नजर पश्चिम बंगाल र तमिलनाडुमा परेको छ।
तमिलनाडुमा चर्चित सुपरस्टार विजय थालापतिले खोलेको तमिझगा वेत्री कजगम (टिभिके) पार्टी सबैभन्दा ठूलो दल बन्ने स्थितिमा छ। अर्कोतर्फ, भाजपा पहिलो पटक पश्चिम बंगालमा सरकार बनाउने अवस्थामा पुगेको छ।
सन् २०११ देखि लगातार तीन कार्यकाल मुख्यमन्त्री रहेकी ममता बनर्जीको तृणमुल कांग्रेस बंगालमा पराजित भएको छ। उनी २०११ मा ३४ वर्षदेखिको कम्युनिस्ट शासन तोडेर सत्ता कब्जा गरेकी थिइन्।
भाजपाले बंगालमा विजय हासिल गर्नको लागि मतदाता नामावलीमा संशोधन, अल्पसंख्यक समुदायमा राजनीतिक रणनीति र केन्द्रको शक्ति प्रयोग गरेको आरोप विपक्षीहरूले लगाएका छन्। यद्यपि विशेषज्ञहरूले लगातार १५ वर्षको शासन, आर्थिक सुस्त वृद्धि र ‘एन्टी-इन्कम्बेन्सी’ भावना पनि ममताको पराजयको प्रमुख कारण भएको विश्लेषण गरेका छन्।
भाजपाको बंगाल विजय राष्ट्रिय राजनीतिका लागि पनि ठूलो संकेत मानिएको छ। २०२४ को लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दा, भाजपाले उत्तर प्रदेश, महाराष्ट्र, बिहार, गुजरात, मध्य प्रदेश र अन्य राज्यमा प्रदर्शन बलियो बनाएर फेरि केन्द्रमा बहुमत ल्याउन सक्ने सम्भावना बढेको छ।
