काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बागमती प्रदेशस्तरीय छलफलमा सहभागी अधिकांश नेताहरूले विशेष महाधिवेशनको बहसकै कारण पार्टी एकता कमजोर बनेको निष्कर्ष निकालेका छन्।
पार्टी र देशका समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा बनाउन नेता कोइरालाले बिहीबार बालुवाटारस्थित ओपेरा होटलमा प्रदेशस्तरीय छलफल आयोजना गरेका थिए।
छलफलमा बोल्ने अधिकांश नेताहरूले पार्टीभित्र विवाद बढ्दै गएको र एकता कायम हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए। सहभागी एक नेताका अनुसार पछिल्लो समय पार्टीभित्र देखिएको मतभेदको मुख्य कारण विशेष महाधिवेशनको एजेन्डा नै रहेकोमा धेरैजसो नेताहरू सहमत देखिएका थिए।
छलफलमा अहिलेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने प्रमुख जिम्मेवारी सभापति गगन थापाको काँधमा रहेको निष्कर्ष समेत निकालिएको बताइएको छ।
त्यसैगरी केन्द्रीय कार्यसमितिले आह्वान गरेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामाथि पनि नेताहरूले प्रश्न उठाएका छन्। १५औं महाधिवेशनका लागि सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक प्रक्रिया सुरु गर्नु उचित नियतसहित नआएको भन्दै असन्तुष्टि जनाइएको छ।
