Premier Cables
Premier Steel

राजनीति

शेखरलाई देउवाको चुनौती : ‘हल्ला होइन, संसदीय दलको नेतृत्व परिवर्तन गरेर देखाउनू’

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, साउन ०६, २०८२  | अपराह्न ३:२० बजे

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्वको बहस चर्किंदै गएको छ। हालै बूढानीलकण्ठमा भएको छलफलमा शेखर कोइरालाको नाम उठेपछि सभापति शेरबहादुर देउवाले तीव्र प्रतिक्रिया दिँदै, “बाहिर धेरै हल्ला–खल्ला गर्नुभन्दा संसदीय दलको नेता परिवर्तन गरेर देखाउनू,” भन्दै चुनौती दिएका छन्। दउवा निकट पाँचजना नेता उनलाई भेट्न पुगेका बेला छलफल भएको हो ।

२०७९ पुस ६ मा भएको संसदीय दल नेताको निर्वाचनमा देउवाले ६४ मत ल्याएका थिए भने प्रतिस्पर्धी गगन थापाले २४ मत प्राप्त गरेका थिए। यद्यपि, देउवा नेतृत्वको आलोचना र नेतृत्व परिवर्तनको चर्को चर्चा पार्टीभित्र निरन्तर भइरहेको छ।

बिज्ञापन

छलफलका क्रममा गठबन्धन सरकारसम्बन्धी विषयमा पनि देउवाले पार्टीभित्र केही कुरा उठेमा सञ्चार माध्यममा बोल्नुअघि आफूलाई र प्रधानमन्त्रीलाई जानकारी गराएर समाधान खोज्नुपर्ने धारणा राखेका थिए।

भेटमा सहभागी नेताले हल्का व्यंग्य गर्दै भने, “केपी ओलीले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा पठाउँदा उहाँको उमेर ५३/५४ वर्षजति थियो। अहिले उहाँ रिटायर्ड भएर पनि सक्रिय राजनीतिमा फर्कन खोज्नुभएको जस्तो देखिन्छ। सभापतिजी, अब राष्ट्रपति सिफारिस गर्दा ७० कटेका व्यक्तिलाई मात्रै गर्नु।” उक्त भनाइप्रति देउवा फिस्स हाँसेका थिए।

यसअघि देउवाले बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पूर्वराष्ट्रपतिलाई फेरि एमालेको राजनीतिमा फर्काउने प्रयासप्रति आपत्ति जनाएका थिए। उनले राष्ट्रको परमाधिपति भइसकेको व्यक्ति पुनः दलगत राजनीतिमा फर्कनु असंवैधानिक हुने धारणा राखेका थिए।

गत फागुन २ गते देउवानिकट ११ जना नेताहरूले देउवालाई भेटेर भावी सभापति चयन र पार्टीको भावी रणनीतिबारे छलफल गरेका थिए। तर, देउवाले त्यो बेला पनि भावी सभापति उम्मेदवारबारे स्पष्ट संकेत गरेका थिएनन्। अहिले पनि उनले समूह नेताबारे खुलस्त भनेका छैनन्।

प्रवक्ता डा. प्रकाशशरण महतले भने, “सभापतिज्यूले समय आएपछि भन्नुहोला, तर उहाँबाट संकेत नआए भन्दैमा हामी निष्क्रिय हुने छैनौं। हामी हाम्रो ढंगले सक्रिय भइरहन्छौं।”

१५ औं महाधिवेशनलाई लक्षित गर्दै महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले संगठन सुदृढीकरण र प्रचार अभियान चलाइरहेका छन्। देउवा समूहभित्र पनि यस्तै गतिविधि तीव्र पार्न नेताहरूले उम्मेदवार तोक्न दबाब दिइरहेका छन्। तर देउवाले भने हालसम्म चासो देखाएका छैनन्।

यसबीच, नेकपा एमालेसँगको सात बुँदे सहमतिअनुसार देउवा २०८३ असारमा प्रधानमन्त्री बन्ने पालो कुर्दै छन्। त्यसपछि मात्रै उनले १५ औं महाधिवेशनको तयारी अघि बढाउने योजना बनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka