फायल फोटो
विराटनगर । विराटनगर महानगरपालिका–९ सोमबारेबाट तास खेलिरहेका ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी र ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं र ५६ वर्षीय राजु रन्जितकार तथा विराटनगर–१३ का ६२ वर्षीय एतनकुमार खड्का रहेका छन्।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार खाली घरमा नियमित रूपमा तास खेल्ने गरिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर अभिषेक श्रेष्ठको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाको साथबाट तीन बुक तास, नेपाली ४४ हजार १ सय ६५ रुपैयाँ र भारतीय २ हजार ५ सय रुपैयाँ बरामद गरेको छ। उक्त घरमा एसी जडान गरेर जुवा खेल्न मिल्ने गरी व्यवस्थित गरिएको पाइएको समेत प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
