काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा जारी प्रेस विज्ञप्तिमा मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता विषयमा तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताइएको छ। पार्टीले नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।
नेपाली कांग्रेसले गृहमन्त्रीसँग जोडिएको पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितामा गम्भीर प्रश्न उठाएको जनाएको छ। सम्बन्धित पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रभाव पर्न सक्ने आशंका रहने भएकाले स्वतन्त्र र प्रभावरहित अनुसन्धान वातावरण सुनिश्चित गर्नुपर्ने पार्टीको धारणा छ।
यसै सन्दर्भमा कांग्रेसले सरकारसमक्ष गृहमन्त्रीसँग सम्बन्धित सबै आरोपहरूको उच्चस्तरीय र निष्पक्ष छानबिन प्रक्रिया तुरुन्त सुरु गर्न माग गरेको छ। ढिलासुस्ती वा प्रभाव पार्ने कुनै पनि प्रयासले सुशासन र जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी पनि दिइएको छ।
पार्टीले आफू सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा उभिँदै आएको र भविष्यमा पनि त्यसमा अडिग रहने जनाएको छ।
