काठमाडौँ । चन्द्रागिरि नगरपालिका–६ स्थित पवित्र मातातीर्थ कुण्डमा शुक्रबार बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ।
‘मातातीर्थ औँसी’ का अवसरमा हरेक वर्षझैं यस वर्ष पनि श्रद्धालुहरू स्नान, दर्शन तथा श्राद्ध–तर्पणका लागि त्यहाँ पुगेका हुन्।
वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्व जन्मदात्री आमाको सम्मानमा समर्पित हुन्छ। दिवंगत आमाको सम्झनामा भक्तजनहरू अघिल्लो साँझदेखि नै दीप प्रज्वलन गर्दै जाग्राम बसेका थिए। आज बिहान उनीहरूले कुण्डमा स्नान गरी पिण्डदान तथा तर्पण गरेका छन्।
धार्मिक विश्वासअनुसार यस दिन मातातीर्थमा स्नान र दर्शन गरेमा दिवंगत आमाले मोक्ष प्राप्त गर्ने र सन्तानले पुण्य कमाउने जनश्रुति रहिआएको छ। हिन्दू धर्मशास्त्रमा आमाको स्थान अत्यन्त उच्च मानिन्छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने मान्यताले आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि महान् ठानिएको छ।
शास्त्रीय परम्पराअनुसार पितृ ऋण तिर्न आमाबुबा जीवित हुँदा सम्मानपूर्वक सेवा गर्नु र निधनपछि श्रद्धापूर्वक श्राद्ध गर्नु आवश्यक मानिन्छ।
