काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालनमा आएको हो।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने समग्र परीक्षा चैत २९ गतेसम्म चल्नेछ।
बिज्ञापन
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फाराम भरेका छन्। तीमध्ये ४ लाख ४१ हजार ५६६ जना नियमिततर्फका विद्यार्थी छन् भने ७० हजार ८५५ जना ग्रेड वृद्धितर्फका परीक्षार्थी रहेका छन्।
यस वर्ष पनि परीक्षामा छात्राको संख्या बढी रहेको छ। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्। साथै, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले पनि परीक्षा दिइरहेका छन्।