विराटनगर । मोरङ जिल्लामा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अपराह्न ३ बजेसम्म ४४.८२ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरि रहेका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ३ लाख ५० हजार ९३६ जनाले मतदान गरेका छन्।
खसेको मतमध्ये १ लाख ७९ हजार ८८८ पुरुष र १ लाख ७० हजार ४८ महिला मतदाता रहेका छन् भने अन्य मतदाता शून्य रहेको जनाइएको छ।
प्रतिनिधि सभा क्षेत्रअनुसार सबैभन्दा बढी मत क्षेत्र नम्बर १ मा ४८.५५ प्रतिशत खसेको छ। उक्त क्षेत्रमा ६३ हजार ७९६ मत खसेको छ। त्यसैगरी क्षेत्र नम्बर २ मा ५६ हजार ३९६ (४४.६० प्रतिशत) मत खसेको छ।
त्यस्तै क्षेत्र नम्बर ३ मा ६७ हजार ६८० (४२.८२ प्रतिशत) र क्षेत्र नम्बर ४ मा ५० हजार ३५४ (४२.२२ प्रतिशत) मत खसेको छ।
क्षेत्र नम्बर ५ मा ५६ हजार १७९ (५०.९९ प्रतिशत) र क्षेत्र नम्बर ६ मा ५७ हजार ५३१ (४१.७४ प्रतिशत) मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मोरङ जिल्लामा रहेका ८८८ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
