Premier Cables
Premier Steel

कोशी प्रदेश

मनोज अग्रवालको प्रतिवद्धताः पछाडि परेको क्षेत्रको रूपान्तरण

Calendar सोमबार, फाल्गुण ०४, २०८२  | राती ९:४९ बजे

विराटनगर  । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रम जारी राखेका छन्। यसैक्रममा मोरङ ५ बाट नेकपा (एमाले) का उम्मेदवार मनोज कुमार अग्रवाल ले सोमबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरी मतदातालाई विश्वास दिलाएका छन्।

अग्रवालले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएको बताउँदै मोरङ-५ को समग्र विकास र उत्थानका लागि उम्मेदवारी दिएको जानकारी दिए। उनले आफ्नो मुख्य लक्ष्य विकासमा पछाडि परेको क्षेत्रलाई रूपान्तरण गर्नु रहेको स्पष्ट पारे।

उनले विशेष गरी भौतिक पूर्वाधार र सडक विकासका योजना अघि सारेका छन्। रंगेली-विराटनगर हुलाकी मार्गलाई मापदण्डअनुसार स्तरोन्नति गरी आधुनिक मार्ग बनाउने र विराटनगर-१३ देखि १८, जहदा र धनपालथान गाउँपालिका तथा रंगेली नगरपालिकाका चयनित सडकहरू पाँच वर्षभित्र कालोपत्रे र ढल निर्माणसहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कृषि र सिँचाइ क्षेत्रमा पनि उनले विराटनगर-रंगेली क्षेत्रका वडाहरू, विशेषगरी धनपालथान र जहदालाई विशेष कृषि जोनका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। साथै बक्राहा चिसाङ, लोहन्द्रा सिघिंया, केशलिया जस्ता खोलानालाको सिँचाइ र बाढी नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माण गर्ने बताए।

शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने लक्ष्यका साथ उनले सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने र रंगेली अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउने, धनपालथान, जहदा र विराटनगर–रानी क्षेत्रमा थप अस्पताल निर्माण गर्ने योजना सार्वजनिक गरे।

उद्योग, व्यापार र रोजगारीको क्षेत्रमा पनि अग्रवालले बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने र सरकारी जग्गामा ‘विराट औद्योगिक क्षेत्र’ स्थापना गरी नयाँ उद्योग स्थापना गर्ने योजना घोषणा गरे।

धार्मिक र सांस्कृतिक सम्पदा—मठ, मन्दिर, मस्जिद, बौद्ध गुम्बा र चर्च—को पुनर्निर्माण तथा स्तरोन्नति गर्ने प्रतिबद्धता पनि उनले जनाए। साथै शान्ति, सुशासन र भ्रष्टाचार नियन्त्रणका साथै युवा, महिला, ज्येष्ठ नागरिक, निमुखा र अशक्त वर्गको हितमा विशेष पहल गर्ने कुरा बताए।

अग्रवालले मोरङ–५ लाई समग्र रूपमा विकास र समृद्ध बनाउने लक्ष्यसहित प्रतिबद्धतापत्र सार्वजनिक गरेको उल्लेख गर्दै चुनावको नतिजा जे भए पनि जनतासँग सधैं काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka