काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताबाट हटाइएपछि बंगलादेशमा पहिलो पटक आम निर्वाचन भइरहेको छ ।
नयाँ सरकार गठनका लागि सुरु भएको मतदान अपराह्न ४ः३० बजेसम्म जारी रहने बताइएको छ ।
बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी मतदाता मतदान प्रक्रियामा सहभागी हुँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण हसिना पदच्युत भएकी थिइन् ।
हसिना देश त्यागेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।
आन्दोलनका क्रममा करिब १,४०० प्रदर्शनकारीको ज्यान गएको थियो । गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
हसिनाको दल अवामी लिगलाई यस निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।
यस पटकको निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र इस्लामी दल जमात–ए–इस्लामीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक नयाँ राजनीतिक दलसँग गठबन्धन गरेको छ ।
