न्यूयोर्क । वर्षौँको अध्ययनपछि टायरानोसोरस रेक्स (टी. रेक्स) ले पृथ्वीमा घुमेका डायनासोरको सूचीमा सबैभन्दा डर लाग्दा शिकारीमध्ये एकको रूपमा आफ्नो प्रतिष्ठा कायम गरेको छ ।
तर नयाँ अनुसन्धानअनुसार, यी क्रूर देखिने जीवहरू सम्भवतः करिब ४० वर्षको उमेरमा मात्र पूर्ण रूपमा वयस्क हुन्थे। यसको अर्थ, उनीहरूले आफ्नो जीवनको ठूलो हिस्सा हामीले कल्पना गर्ने विशालकाय रूपभन्दा साना र कम डर लाग्दा अवस्थामा बिताएका थिए।
जनवरी १४ मा PeerJ नामक वैज्ञानिक जर्नलमा प्रकाशित नयाँ अध्ययनले विलुप्त यस प्रजातिको वृद्धि र विकाससम्बन्धी समयरेखालाई अद्यावधिक गरेको छ। अनुसन्धानले देखाउँछ कि “टायरन्ट छेपारोहरूको राजा” भन्ने अर्थ लाग्ने टी. रेक्स पहिले सोचिएभन्दा ढिलो परिपक्व हुन्थ्यो।
“राजा बन्नुअघि राजकुमारलाई हुर्कन धेरै समय लाग्यो,” स्कटल्याण्डको एडिनबरा विश्वविद्यालयका जीवाश्म विज्ञ स्टिभ ब्रुसाटेले भनेका छन्। उनी यस अनुसन्धानमा संलग्न थिएनन्।
२००० को सुरुवाततिर गरिएको अघिल्लो अध्ययन-जसमा थोरै जीवाश्म मात्र प्रयोग गरिएको थियो-अनुसार टी. रेक्सले २० देखि २५ वर्षको उमेरमा करिब २०,००० पाउन्ड तौल र ४० फिट लम्बाइसम्म पुगेर पूर्ण आकार लिने र लगभग ३० वर्षसम्म बाँच्ने अनुमान गरिएको थियो। तर त्यसयता थप टी. रेक्सका हड्डीहरू फेला परेका छन्, जसले वैज्ञानिकहरूलाई ठूलो नमुना संख्यामा अध्ययन गर्ने अवसर दिएको छ।
रोचक तथ्य: हेभीवेट च्याम्पियन
क्यानडाको रोयल सास्केचेवान संग्रहालयमा प्रदर्शनमा राखिएको “स्कोटी” नामक टी. रेक्स अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो नमुना हो। अनुसन्धानकर्ताहरूका अनुसार, स्कोटीको मृत्यु करिब ३० वर्षको उमेरमा भएको थियो र यसको तौल लगभग १९,५५५ पाउन्ड तथा लम्बाइ करिब ४२ फिट थियो।
यस अध्ययनका लागि वैज्ञानिकहरूले विभिन्न उमेरका १७ वटा टी. रेक्सका जाँघ र पिँडुलाका हड्डीहरूको सूक्ष्म संरचना अध्ययन गरे। विशेष गरी, उनीहरूले हरेक वर्ष बन्ने वृद्धि घेराहरू (ग्रोथ रिङ्स) गने-जसरी रूखका घेरा गनिन्छ।
“खुट्टाका हड्डीहरू जनावरमा सबैभन्दा छिटो बढ्ने हड्डीमध्ये पर्छन्, किनभने शरीर ठूलो हुँदै जाँदा तौल थाम्नुपर्छ,” ओक्लाहोमा स्टेट विश्वविद्यालयकी अध्ययन सहलेखक होली वुडवर्डले बताइन्। “त्यसैले यसले बर्सेनि जनावर कसरी बढ्यो भन्ने कुरा स्पष्ट देखाउँछ।”
वैज्ञानिकहरूले हड्डीहरूबाट अत्यन्त पातला टुक्रा काटेर सबै वृद्धि घेराहरू गने-पहिला अध्ययनहरूमा छुटेका साना र साँघुरा घेराहरू समेत। ध्रुवीकृत प्रकाश (पोलराइज्ड लाइट) प्रयोग गर्दा उनीहरूले अझ धेरै घेरा फेला पारे।
त्यसपछि सबै तथ्यांक मिलाएर टी. रेक्सको नयाँ र विस्तृत वृद्धि वक्र तयार गरियो। अध्ययनका सहलेखक नाथन माइर्वोल्डका अनुसार, “यस संयुक्त वृद्धि वक्रले टायरानोसोरस कसरी हुर्कियो र तिनीहरूको आकारमा कति भिन्नता थियो भन्ने कुरा धेरै यथार्थपरक रूपमा देखाउँछ।”
टी. रेक्सका खुट्टाका हड्डीहरूमा करिब ४० वर्षपछि वृद्धि घेरा बन्न बन्द भएको देखियो, जसले त्यही उमेरमा उनीहरू परिपक्व हुन्थे भन्ने संकेत गर्छ-यदि त्यति लामो समय बाँच्न सके भने। अनुसन्धानकर्ताहरूका अनुसार, धेरैजसो टी. रेक्स पूर्ण वयस्क आकारमा पुग्नुअघि नै मरे।
अध्ययनमा समावेश दुई नमुनाहरू अरूभन्दा ढिलो बढेका देखिए, जसले उनीहरू सम्भवतः फरक प्रजातिका हुन सक्ने संकेत गर्छ-सायद हालै वर्णन गरिएको सानो आकारको विवादास्पद प्रजाति हो । तर ती बिरामी, घाइते, वा वातावरणीय कारणले वृद्धि अवरुद्ध भएको पनि हुन सक्छ।
समग्रमा, यी नतिजाहरूले ढिलो क्रिटेशियस काल (करिब ६८ देखि ६६ मिलियन वर्षअघि) मा बाँच्ने यस प्रख्यात प्रजातिको जीवनशैलीबारे नयाँ बुझाइ सार्वजनिक भएको छ ।
आफ्नो जीवनको ठूलो हिस्सामा टी. रेक्स सानो वा मध्यम आकारको थियो र सम्भवतः खानाका लागि प्रतिस्पर्धा गर्नुपर्थ्यो। पूर्ण रूपमा विशाल आकारमा पुगेपछि मात्र ऊ शीर्ष शिकारी (एपेक्स प्रिडेटर्स) बन्थ्यो।
यस अध्ययनले अन्य विलुप्त भएका डायनासोरहरूको जीवनचक्रसम्बन्धी अनुमानहरू पनि पुनः मूल्याङ्कन गर्न वैज्ञानिकहरूलाई सोचमग्न बनाएको छ।
“अब अन्य डायनासोरहरूको वृद्धि वक्रका अनुमानहरू पनि पुनः हेर्नुपर्नेछ,” कार्थेज कलेजका जीवाश्म विज्ञ थोमस कारले भनेका छन्। “समग्रमा, डायनासोरहरूको विकासबारे हाम्रो बुझाइमा ठूलो परिवर्तन आउनेछ।”
