स्कटल्यान्ड । स्कटल्यान्डमा फेला परेको करिब ३७ करोड वर्ष पुरानो जीवाश्म (फसिल) हालसम्म चिनिएका कुनै पनि बोटबिरुवा वा फंगस नभई पूर्ण रूपमा नयाँ प्रकारको जीवन भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन्।
यो जीव करिब २६ फिट अग्लो रहेको बताइएको छ।
प्रोटोट्याक्साइटिस नाम दिइएको यो जीव विशाल रूखको तना जस्तो देखिन्थ्यो, तर यसमा पात वा हाँगाको संरचना थिएन। सुरुमा यसलाई फंगसको एक रूप मानिएको थियो।
तर युनिभर्सिटी अफ एडिनबर्ग र नेसनल म्युजियम्स स्कटल्यान्ड द्वारा गरिएको नयाँ अनुसन्धानले यो जीव न त फंगस हो, न त बोटबिरुवा नै भएको देखाएको छ। वैज्ञानिकहरूका अनुसार यो जीव करिब ३७ करोड वर्षअघि पूर्ण रूपमा लोप भएको, छुट्टै विकासवादी शाखाको जीवन रूप हो।
अनुसन्धानका प्रमुख सह-लेखक तथा नेसनल म्युजियम्स स्कटल्यान्डका अनुसन्धानकर्ता स्यान्डी हेथरिङ्टन ले भने,
“यो जीवन हो, तर हामीले आज चिनेको जीवन जस्तो होइन। यसको संरचना र रासायनिक गुण फंगस वा बोटबिरुवाभन्दा फरक छन्, जसले यसलाई पूर्ण रूपमा लोप भइसकेको विकासवादी शाखामा राख्छ।”
यो अध्ययनका लागि वैज्ञानिकहरूले स्कटल्यान्डको एबरडिनशायरस्थित राइनी चर्ट नामक अवसादी क्षेत्रमा भेटिएका ४०७ मिलियन वर्ष पुराना जीवाश्महरूको आणविक संरचना अध्ययन गरेका थिए।
प्रोटोट्याक्साइटिसका जीवाश्महरू पहिलो पटक सन् १८४३ मा फेला परेका थिए। त्यसको १४ वर्षपछि क्यानाडाली वैज्ञानिक जे. डब्लु. डसन ले यसलाई आंशिक रूपमा कुहिएका विशाल शंकुधारी रूखहरू ठानेका थिए। त्यसयता यसको वास्तविक पहिचानबारे वैज्ञानिकहरूबीच लामो समयदेखि बहस हुँदै आएको थियो।
अघिल्ला अध्ययनहरूले यो जीवले बोटबिरुवाझैँ केवल प्रकाश संश्लेषणबाट ऊर्जा नलिने देखाएका थिए। साथै, लिचेनजस्तै कुनै सहजीवी सम्बन्धमा पनि नरहेको र फंगसमा हुने विशाल भूमिगत माइसेलिया संरचना पनि नभएको पाइएको थियो।
नयाँ विश्लेषणले प्रोटोट्याक्साइटिस तत्कालीन फंगसहरूभन्दा रासायनिक र संरचनात्मक रूपमा पूर्ण रूपमा फरक रहेको देखाएको छ। अनुसन्धानकर्ताहरूले यसलाई “पूर्ण रूपमा लोप भइसकेको युक्यारियोटिक जीवन रेखा” मा राख्न उपयुक्त ठहर गरेका छन्।
युनिभर्सिटी अफ एडिनबर्गकी अनुसन्धान सह–लेखक तथा विद्यावारिधि विद्यार्थी लौरा कूपर ले भनिन्,
“हाम्रो अध्ययनले प्रोटोट्याक्साइटिसलाई फंगस समूहमा राख्न नसकिने स्पष्ट देखाउँछ। अन्य सबै जटिल जीवन समूहबाट यसलाई पहिले नै हटाइसकिएको हुँदा, हामी यो छुट्टै र अहिले लोप भइसकेको जीवन रेखासँग सम्बन्धित रहेको निष्कर्षमा पुगेका छौँ।”
उनका अनुसार प्रोटोट्याक्साइटिसले पृथ्वीमा ठूला र जटिल जीव बनाउने जीवनको स्वतन्त्र प्रयास प्रतिनिधित्व गर्छ, जुन असाधारण रूपमा सुरक्षित जीवाश्ममार्फत मात्र बुझ्न सकिन्छ।
प्रोटोट्याक्साइटिस लेट सिलुरियनदेखि लेट डेभोनियन काल (४२० देखि ३७० मिलियन वर्षअघि) सम्म अस्तित्वमा थियो। त्यो समय पृथ्वीमा बोटबिरुवा र जनावरहरू जमिनमा फैलिन थालेको महत्वपूर्ण काल थियो।
यो जीव जमिनमा बस्ने पहिलो विशाल जीव मानिन्छ, जसले त्यस समयका अन्य सबै बोटबिरुवा र जनावरलाई आकारमा सानो बनाएको थियो।
यो अनुसन्धान साइन्स एडभान्सेस नामक अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ।
