फायल फोटो
काठमाडौं । जनमत पार्टीले मधेस सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी अध्यक्ष सीके राउतले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिएका हुन्।
मंगलबार (वैशाख २२) सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “हामीलाई मन्त्री पदभन्दा जनताको सेवा महत्वपूर्ण छ। जनताको सेवा र विकास नभए पदको कुनै अर्थ हुँदैन।” मधेस सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले जिल्लास्तरसम्म आमजनता र कार्यकर्तामा निराशा बढ्दै गएको उल्लेख गरेका छन्।
राउतका अनुसार, मधेस सरकारबाट जनताको हितमा प्रभावकारी काम हुन नसकेको र विगत पाँच महिनादेखि पटक–पटक सुझाव दिँदा पनि सुधारको पहल नभएको बताए। पार्टीको संसदीय दलको वैशाख ११ गते बसेको बैठकले सरकार छाड्ने निर्णय गरेको पनि उनले स्पष्ट पारे।
यसैबीच, जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेतामा परिवर्तन गरेको छ। वैशाख २१ गतेदेखि लागू हुने गरी चन्दनकुमार सिंहलाई नयाँ नेता तोकिएको राउतले जानकारी दिएका छन्।
यसअघि संसदीय दलका नेता रहेका महेशप्रसाद यादवले भने सोही दिन सरकारलाई समर्थन कायम रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए। उनी हाल प्रदेशका अर्थमन्त्री समेत हुन्। यादवलाई हटाउँदै सिंहलाई संसदीय दलको नेता बनाइएको पत्र पनि राउतले सार्वजनिक गरेका छन्।
