विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा नेपाल मानव संशाधन सम्मेलनको दोस्रो संस्करण यही वैशाख २५ र २६ गते विराटनगरमा आयोजना हुने भएको छ।
सम्मेलनको मुख्य उद्देश्य नेपालमा बढ्दो मानव संशाधन चुनौतीलाई सम्बोधन गर्दै औद्योगिक विकासका लागि सक्षम जनशक्ति निर्माण गर्नु रहेको आयोजकले जनाएको छ।
नेपालको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव, उच्च दरको वैदेशिक पलायन, सीपको असन्तुलन, कर्मचारी स्थायित्वको कमी, प्रविधिको तीव्र विकास तथा रोजगारीदाता र तालिम प्रदायकबीच समन्वय अभावजस्ता समस्याले प्रभाव पारेको सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको हो।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार सम्मेलनले मानव संशाधनलाई उत्पादनशीलता र दिगो औद्योगिक विकासको रणनीतिक आधारका रूपमा पुनःपरिभाषित गर्ने लक्ष्य लिएको छ। सम्मेलनमार्फत मानव संशाधन व्यवस्थापनलाई गुणस्तर र उत्पादकतासँग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गरिनेछ।
कार्यक्रममा नवीन अभ्यासहरूको आदानप्रदान, कर्मचारी स्थायित्व अभिवृद्धि, अप्रेन्टिससिप तथा प्रमाणीकरण प्रणालीको सुदृढीकरण, डिजिटल एचआर प्रणालीको प्रवर्द्धन तथा रोजगारदाता र तालिम प्रदायकबीच सहकार्य विस्तारका विषयमा छलफल हुने जनाइएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नौ वटा सत्र रहनेछन्, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवसहितका वक्ता र प्यानलिस्टहरूको सहभागिता रहनेछ। सत्रहरूमा बहुराष्ट्रिय कम्पनीहरूले अपनाएका मानव संशाधन अभ्यास, प्रविधिगत परिवर्तनको प्रभाव, डिजिटल एचआर प्रणालीको प्रयोग, कर्मचारी स्थायित्वका उपाय तथा प्रचलित ऐन–कानुनका विषयमा प्रस्तुति हुने आयोजकले जनाएको छ।
सम्मेलनमा उद्योगी, व्यवस्थापक, प्रशासक, मानव संशाधन प्रमुख, तालिम प्रदायक संस्था, नीति विश्लेषक, विद्यार्थी तथा विभिन्न औद्योगिक प्रतिष्ठानका प्रतिनिधि गरी १५० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। सम्मेलनबाट मानव संशाधनसम्बन्धी रणनीतिक रोडम्याप तयार हुने, कर्मचारी स्थायित्वका उपाय पहिचान हुने तथा डिजिटल प्रणालीसम्बन्धी व्यावहारिक ज्ञान विस्तार हुने विश्वास गरिएको छ।
यसअघि सन् २०२४ मा सम्पन्न पहिलो संस्करणले मानव संशाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गरेको थियो भने यस वर्षको दोस्रो संस्करणले ती उपलब्धिलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।
