विराटनगर। नेकपा एमालेको उमेदवार बनेर नेता भानुभक्त ढकाल मोरङ आउँदा धेरैले टुरिस्ट उमेदवार भन्दै आलोचना गरे । यो क्षेत्र एमालेका लागि निकै सुरक्षित मानिएकोले पहिलो पटक प्रतिनिधि सभा निर्वाचन जिते पनि । तर, दोस्रो पटकमा भने कांग्रेसका डा. सुनील शर्माले पराजित गरिदिए ।
टुरिस्ट भएको भन्ने भाष्य फेर्न भन्दै ढकालले सुन्दरहरैंचा क्षेत्रमा घर पनि बनाए । आफू यहीक्षेत्रको भएको विश्वास दिलाउन खोजे । तर, आगामी फागुनमा हुने निर्वाचनमा एमालेले उमेदवारको टुंगो लगाउँदा ढकालको नाम मोरङमा थिएन । बरु उनको नाम तेह्रथुमको उमेदवारको रुपमा तोकिएको थियो ।
पार्टी संगठन विस्तारमा मोरङमा खासै काम नगरेका ढकालको निकै आलोचना हुने गरेको थियो । अन्ततः उनी तेह्रथुम नै फर्किएका छन्।
एमाले सचिव तथा पूर्वमन्त्री ढकालले मोरङ–३ बाट दुई पटक निर्वाचन प्रतिस्पर्धा गरेका थिए। २०७४ सालको निर्वाचनमा उनले कांग्रेस उम्मेदवार डा. सुनिल शर्मालाई पराजित गर्दै संसद प्रवेश गरेका थिए। तर २०७९ सालको निर्वाचनमा पुनः शर्मासँग पराजित भएपछि उनी मोरङ–३ बाट टाढिँदै आएका थिए। पराजयपछि सो क्षेत्रमा पार्टी संगठन पनि कमजोर बनेको थियो।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ढकाल आफ्नै जन्मथलो तेह्रथुम पुगेका हुन्। मोरङ–३ मा भने एमालेले पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलीप राईलाई उम्मेदवार बनाएको छ। क्षेत्र असुरक्षित देखिएपछि ढकाल तेह्रथुम फर्किएको एमाले नेताहरू बताउँछन्। ढकाल तेह्रथुमको छथर–५ ओख्रेमा जन्मिएका हुन्।
