सांकेतिक तस्बिर
विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आफ्ना चुनावी कार्यालयमा भएको तोडफोडप्रति कडा आपत्ति जनाएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमार्फत महानगर कमिटीले विराटनगरका दुई वडास्थित निर्वाचन परिचालन कमिटी कार्यालयमा भएको घटनाको भर्त्सना गरेको हो।
पार्टीका अनुसार शनिबार राति वडा नं. १७ र आइतबार राति वडा नं. १५ मा रहेका निर्वाचन परिचालन कमिटीका कार्यालयमा तोडफोड गरिएको छ। निर्वाचनको वातावरण बिगार्ने उद्देश्यले योजनाबद्ध रूपमा अराजक गतिविधि गरिएको एमालेको आरोप छ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनसँग माग गरिएको छ। साथै, यस्ता घटनाबाट निर्वाचनको माहोल प्रभावित हुन नदिन सुरक्षा सतर्कता बढाउन आग्रह गरिएको छ।
एमालेले निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमाथि विशेष निगरानी र प्रभावकारी अनुगमन गर्न निर्वाचन आयोगसँग पनि अनुरोध गरेको छ। पार्टीले आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित रहन, अफवाहमा नफस्न र सतर्कता अपनाउन आह्वान गर्दै निष्पक्ष तथा भयरहित निर्वाचन सुनिश्चित गर्न प्रशासनसँग जोडदार माग गरेको जनाएको छ।
