विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेन–जेड पुस्ता आफ्नो पार्टीतर्फ आकर्षित रहेको दाबी गरेका छन्। उनले नयाँ पार्टी पुराना र नयाँ दुवै पुस्ताका लागि समान रूपमा खुला रहेको उल्लेख गरे।
सोमबार (मंसिर १५) विराटनगरमा आयोजित पार्टीको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेपालले भने, “समानता अनुभूत होस्, जनताको इज्जत–प्रतिष्ठा जोगियोस् भन्ने उद्देश्यले नयाँ पार्टी गठन गरिएको हो।”
२०२८ सालमा विराटनगरबाट बी.कम. उत्तीर्ण गरेको स्मरण गर्दै नेपालले मनमोहन अधिकारीलगायत तीनवटा कम्युनिस्ट धारलाई एकता गराएको क्रममा ठूलो तरंग सिर्जना भएको अनुभव सुनाए। उनले आफूहरू पटक–पटक सरकारमा पुगेर सकारात्मक काम गर्न सफल भएको उल्लेख गर्दै त्यसप्रति गर्व व्यक्त गरे। साथै, विगतमा आफ्नो दलले देश सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको उदाहरण प्रस्तुत गरे।
कोशी प्रदेशमा बामपन्थीहरू समय–समयमा सरकारमा रहेकाले भएका राम्रो काम प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। नयाँ पार्टी कुनै आकस्मिक निर्णय नभई कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्र जोगाउन गठन गरिएको उनले प्रष्ट पारे।
नेपालको स्वाभिमानको रक्षा र “हामी नेपाली हौं” भन्ने पहिचानलाई मजबुत बनाउन पनि नयाँ पार्टी आवश्यक भएको उनले जोड दिए। संविधानको रक्षा गर्नु अहिले सबैको प्रमुख जिम्मेवारी भएको नेपालको भनाइ थियो।
