विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाललाई सबै सन्धी–सम्झौताबाट मुक्त, स्वाधीन र आत्मनिर्भर बनाउने उद्देश्यसहित पार्टी अघि बढेको बताएका छन्। विराटनगरमा आयोजित ‘एकता सन्देश सभा’मा बोल्दै उनले नयाँ एकीकृत नेकपा गठनसँगै देशको रूपान्तरणप्रति ठूलो आशा गरिएको बताए।
रावलका अनुसार अघिल्लो एकताको घोषणापत्रले विभाजनको पीडाबाट मुक्त पार्टी निर्माण गर्ने वाचा गरेको थियो, तर तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको दुई–तिहाइ बहुमतलाई सम्मान गर्न नसकी दुई पटक प्रतिनिधि सभा विघटन गरेर जनमतमाथि चोट पुर्याएको आरोप लगाए। उनले त्यही परिस्थितिबाट उब्रियाउन १५ घटक मिलेर नयाँ नेपाली कम्युनिस्ट पार्टी बनेको बताए।
“यो पार्टीमार्फत कसैको अगाडि नझुक्ने, सार्वभौमसत्ता सम्पन्न मुलुक निर्माण हाम्रो लक्ष्य हो,” रावलले भने।
रावलले बुद्धिजीवीहरूको विदेशतर्फको ठूलो पलायनले देश थप संकटमा परेको टिप्पणी गर्दै भदौ २३–२४ को आन्दोलनका घटनाले राष्ट्रिय सुरक्षा कमजोर रहेको स्पष्ट भएको बताए। आगजनीमा महत्वपूर्ण ऐतिहासिक दस्तावेज नष्ट भएकाले सुरक्षा संरचनामा आमूल परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो। परराष्ट्र नीति कमजोर भएका कारण नदी–नाला र नागरिक अधिकारसम्म गुम्ने हो कि भन्ने चिन्ता बढेको पनि उनले उल्लेख गरे।
उनले एमालेलाई जोगाउन अनेक प्रयास गरे पनि केपी शर्मा ओलीले बलियो कम्युनिस्ट पार्टी नचाहेकै कारण १० बुँदे सहमति कार्यान्वयन हुन नसकेको दाबी गरे।
“ओलीले कम्युनिस्ट आन्दोलनको दिशा बिगारे, लाज–शरम नमानी आगोमा बाले जस्तो गरे,” उनले टिप्पणी गरे।
रावलका अनुसार २३ गतेको आन्दोलनमा भएको दमनको उनले तत्कालै विरोध गरेका थिए। पाँच वर्ष लगाएर पनि नहुने नोक्सानी पाँच घण्टामा भएको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को बैठक समेत बोलाउन नसकेको आरोप लगाए।
उनले भने, “दमन ओलीले नै गराएका थिए, र जब नियन्त्रण गर्न नसकिने भयो, हेलिकप्टर चढेर भागे। अहिले पनि भक्तपुरको गुन्डुबाट कराइरहेका छन्।”
सम्बोधनको क्रममा रावलले पोखरामा आफ्नो मुखबाट ‘एमाले’ नाम बाहिरिएपछि पनि एमाले नेताहरूले अनावश्यक प्रतिक्रिया दिएको टिप्पणी समेत गरे।
