






काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले केही उच्च पदस्थ व्यक्तिहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरिरहेको भन्दै कडा आपत्ति जनाएका छन्।
शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्दै ओलीले सरकारले अनावश्यक हल्ला र आशंका फैलाइरहेको आरोप लगाए। “अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ,” उनले भने, “पासपोर्ट रोक्ने कुरा भइरहेको छ, के ठानेको हो सरकारले? हामी ‘हाहु’ सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छौं र?”
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरूको उद्देश्य देश बनाउने र संविधानिक लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने रहेको स्पष्ट पारे।
“हामीले यो देश बनाउनुपर्छ, फेरि पनि हामी यो देशलाई संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउँछौं,” ओलीको भनाइ थियो।
उनले हालको सरकारप्रति आलोचना गर्दै, जनताको विश्वास गुमाउँदै गएको र विपक्षीहरूलाई अनावश्यक रूपले डर देखाउन खोजिएको आरोप पनि लगाए।