






विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले कोशी प्रदेशसभा भवन पूर्णरूपमा क्षतिग्रस्त बन्यो । सभाको बैठक कहिले बस्ने भन्ने अझै अनिश्चित छ । तर, अबको बैठक तरकारी बजारमा बस्ने गरी तयारी थालिएको छ । आन्दोलनअघि नै अनिश्चितकालका लागि बैक स्थगित भएको थियो । आन्दोलकारीले आगजनी गरेपछि अस्थायी रुपमा बनाइएको सभाहल खरानी भएको छ ।
भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालयदेखि बैठक हलसम्म आगजनी र तोडफोड भयो । हाल प्रदेशसभासँग न भवन छ, न त स्रोतसाधन। यस्तो अवस्थामा अबको बैठक कहाँ र कसरी गर्ने भन्नेबारे मंगलबार सर्वदलीय बैठक बस्यो । बैठकका सहभागीले मोरङको महेशपुरस्थित तरकारी बजारमा बैठक राखन सकिने सुझाव दिइएको थियो ।
त्यो संरचना संघीय सरकारले निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । तर त्यहाँ अपेक्षित ढंगले तरकारी बजार समेत लाग्न सकेको थिएन । विराटनगरका मेयर नागेश कोइरालाले आफ्नै जग्गा भाडामा लगाएर गुदरी बजार सारिदिएपछि सबै व्यापारी उतै लागे । महेशपुर गएनन् । पुरानो गुदरी बजारको संरचना पनि भत्काइएको छ ।
सभामुख अम्बरबहादुर विष्टले आह्वान गरेको सर्वदलीय बैठकले मोरङको कटहरीस्थित कृषि बजारको भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने प्रस्ताव अघि सारेको हो । हाल त्यो संरचना कटहरी गाउँपालिकाको स्वामित्वमा छ । यसबारे गाउँपालिकासँग छलफल गर्ने निर्णय भएको सभामुख विष्टले बताए ।
बैठकमा विराटनगरको वीरेन्द्र सभागृह र कटहरीको तरकारी बजारलाई विकल्पका रुपमा छलफल गरिएको थियो ।अघिल्लो वर्ष त्यहीँ औद्योगिक व्यापार मेला आयोजना गरिएको थियो।
दशैंपछि मात्र यस विषयमा निर्णय लिइने बताइएको छ । प्रदेशको बजेट अधिवेशन जारी छ । बैठकमा उपसभामुख सिर्जना दनुवार, कांग्रेस संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू भूपेन्द्र राई, रेवतीरमण भण्डारी, एमालेका विदुर लिंथेप र तिलचन पाठक, माओवादीकी गीता तिम्सिना, समाजवादीकी विद्या चाम्लिङ लगायत सहभागी थिए।