






विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र जापानका राजदूत महामहिम माईडा टोरुबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशीमा भेटवार्ता भएको छ।
भेटमा आपसी हितका विषयमा छलफल हुँदै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको जनाइएको छ।
मुख्यमन्त्री कार्कीले नेपाल–जापान सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा जापानले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कोशी प्रदेशमा विशेषगरी कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा जापानको सहयोग आवश्यक रहेको बताउनुभयो।
जापानी राजदूत माईडा टोरुले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै औद्योगिक विकास तथा कृषि क्षेत्रमा सहयोग गर्न जापान तयार रहेको धारणा व्यक्त गर्नुभयो।
मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनालका अनुसार भेटघाटमा कोशी प्रदेशको समृद्धि र दीर्घकालीन विकासका सम्भावनाका विषयमा समेत छलफल भएको थियो।