






विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबीच आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल-इजरायल सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको बताए।
मुख्यमन्त्री कार्कीले दुई देशबीच विशेषगरी कृषि, श्रम-रोजगार तथा स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै, इजरायलमा कार्यरत नेपालीहरू मुख्यतः कृषि तथा केयरगिभर क्षेत्रमा संलग्न रहेको बताए। उनले सो प्रणालीलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउनुपर्ने धारणा राखे।
इजरायलको नवप्रवर्तन र प्रविधि हस्तान्तरण सम्बन्धी अनुभव नेपालका लागि उपयोगी हुने भन्दै उनले कोशी प्रदेशले पनि ती अनुभवबाट सिक्न तथा सहकार्य गर्न तत्पर रहेको बताए। साथै, इजरायली कृषि प्रविधिबाट भएको प्रगतिको प्रशंसा गर्दै उनले कोशी प्रदेशमा कृषि उत्पादनका अपार सम्भावना रहेको उल्लेख गरे।
प्रदेश सरकारले युवालाई कृषि उद्यममा आकर्षित गर्न ब्याज अनुदानको व्यवस्था गरिसकेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले कृषकहरूलाई शैक्षिक तथा प्राविधिक तालिम उपलब्ध गराएर आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको स्पष्ट पारे।
भेटमा उनले हाल इजरायलमा बन्दी बनाइएका नेपाली युवा बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूतमार्फत आग्रह गरे। “कोशी प्रदेश सरकार महामहिम राजदूतमार्फत जोशीको रिहाइको पहलको अपेक्षा राख्दछ,” उनले भने।
मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालय, गौरादह कृषि क्याम्पसलगायत प्रदेशका कृषि शिक्षण संस्थाहरूको माध्यमबाट इजरायली सहयोगमा सहकार्य अघि बढाउन पनि आग्रह गरे।
इजरायली राजदूत श्मुलिक आरि बासले नेपाल–इजरायल सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण रहेको बताउँदै पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहँदै आएको स्मरण गरे।
उनले केयरगिभर र कृषि क्षेत्रमा इजरायलमा उल्लेख्य अवसरहरू रहेको उल्लेख गर्दै नेपाली जनशक्तिका लागि थप अवसरहरू सिर्जना गर्न सकिने बताए।
राजदूत बासले नेपालमा कृषिमा संलग्न जनसंख्या अत्यधिक भए तापनि उत्पादन तथा प्रविधिमा अपेक्षाकृत प्रगति नभएको उल्लेख गरे। उनले इजरायलको सानो जनसंख्या भए पनि कृषि प्रविधिको माध्यमबाट हासिल गरेको सफलताको उदाहरण दिँदै, नेपालमा पनि कृषि क्षेत्र सुधारका लागि अझै गहिरो सहकार्यको आवश्यकता रहेको बताए।