Premier Cables
Premier Steel

कोशी प्रदेश

गीतमार्फत जनताका प्रश्न राख्छन् गोम्बु, तर कोसी सरकारको कानसम्म पुग्दैन

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १४, २०८२  | अपराह्न १:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशसभाका माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा आजकल संसद्‌मा ‘गीत गाउने माननीय’ भनेर चिनिन्छन्। सोलुखुम्बु क्षेत्र नं. १(१) बाट निर्वाचित शेर्पा संसद्मा जनभावनाका पक्षमा आवाज उठाउने मात्र होइन, आफ्नो भनाइ गीतमार्फत प्रस्तुत गर्छन्। उनका प्रस्तुतिहरूले संसद्मा फरक शैली ल्याएको छ— जहाँ शब्द मात्र होइन, लय पनि मिसिएको हुन्छ।

शेर्पा बाल्यकालदेखि नै गीत गुनगुनाउने बानीले परिचित थिए। स्कुल राजनीतिमा एमाले निकट अनेरास्ववियु हुँदै २०५८ पछि माओवादीमा प्रवेश गरेका उनी पार्टीका होलटाइमरसमेत रहे। २०५९ सालमा उनी ११ महिना जेलमा बसे। राजनीतिमा आफ्नो जनाधार प्रमाणित गर्दै २०७९ सालको प्रदेशसभा चुनावमा उनले नेकपा एमालेका उम्मेदवार तथा पूर्वराज्यमन्त्री उत्तम कुमार बस्नेतलाई १६३७ मतले पराजित गरेका थिए।

बिज्ञापन

संसद्मा बोल्दा उनी प्रायः विशेष समय लिन्छन् वा शून्य समयमा आवाज उठाउँछन्। तर, उनको प्रस्तुति अरू सांसदजस्तो साधारण शैलीमा सीमित हुँदैन। उनी लेखेर होइन, गाएर बोल्छन्। यही कारण उनका अभिव्यक्तिहरूले सदनमा भावनात्मक असर पार्छन्।

अघोषित लोडसेडिङको विरोधमा संसद्मै उनले गाएका गीत यस्तो थियो:

“नालीमै मुख गाड्छौ किन हो सरकार
घुस खोरी भ्रष्टाचार गरेऊ अत्याचार…”

उनको यो गीतले सदनभर ताली पायो, सत्तापक्षलाई असहज बनायो। तथ्य र व्यङ्ग्य मिसिएको उनको प्रस्तुतिले सरकारप्रति जनताको गुनासो कलात्मक ढंगमा अभिव्यक्त भयो।

गत जेठ २३ गतेको बैठकमा संघीय सरकारको गृहमन्त्रीसमेत मुछिएको भिजिट भिसा काण्डको विरोधमा उनले गाएको गीत “भिजिट भिसामा हजुर…” सामाजिक सञ्जालमा भाइरल बन्यो। लाखौं दर्शकले हेरे, शेयर गरे। त्यसयता उनी संसद्मा गीतमार्फत धारणा राख्ने अभ्यासलाई निरन्तरता दिइरहेका छन्।

उनको शैली संसद्मा मात्र होइन, सांसदहरूबीच पनि चर्चाको विषय बनेको छ। जब उनी बोल्न उभिन्छन्, कतिपय सांसदहरू ठट्यौली गर्दै भन्छन्, “अब गोम्बु माननीयले कुन गीत सुनाउने हुन्?”

गत असार ७ गते बजेटमाथिको छलफलको क्रममा पनि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की र पर्यटन मन्त्री सदानन्द मण्डलले आफ्ना निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको आरोप गीतमार्फत व्यक्त गरे। गौरादहको पोखरीमा पटकपटक गरिएको बजेट विनियोजनलाई लिएर उनले गाएका थिए:

“गौरादहको बजारैमा माया हाम्रो बस्यो
कसो गरी भुल्ने होला, मन उडी गयो…”

यो गीतले सदनभर मुस्कान ल्यायो। तर व्यङ्ग्य भने तीव्र थियो— राजनीतिक पहुँचको भरमा अनावश्यक बजेट खर्च गरिएको उनको आरोप थियो। उनका अनुसार गौरादहको एउटै पोखरीमा तीन वर्षभित्र ११ करोड रुपैयाँ खर्च भएको छ, जसको संरक्षण समितिका अध्यक्ष मुख्यमन्त्रीका दाजु हुन्।

गोम्बु शेर्पा लेखेर होइन, गाएर बोल्छन्। उनको गीतमा सत्ताको आलोचना मात्र छैन, जनताको पीडा र सामाजिक विसंगतिमाथि घोचपेच पनि छ। उनको ‘गीतमार्फत प्रतिरोध’ अब कोशी प्रदेशसभाको एउटा विशिष्ट विशेषता बनेको छ। सम्भवतः नेपालको संसदीय इतिहासमा यो शैली दुर्लभ छ।

एक समय निःशुल्क हिमाल आरोहणको अवसर छाडेर राजनीतिमा लागेका शेर्पा भन्छन्, “हाम्रो राजनीति दुखित बन्दै गएको छ। यसलाई हामीले नै शुद्ध बनाउँदै लैजानु पर्छ।”

उनको स्वर संसदभित्र अब केवल विरोध होइन, आशाको धुनमा परिणत हुँदैछ— जनताका पीडा, अपेक्षा र अधिकारका लागि।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka