






विराटनगर । विराटनगरमा निकै लामो सयमपछि निरन्तर वर्षा भएको छ । बुधबार बिहानैदेखि विराटनगरका सबैजसो भागमा पानी परिरहेको छ ।
समयमै मनसुन भित्रिएको भएपनि पानी भने परेको थिएन । यसले गर्मी बढाएको थियो । किसानलाई धान रोपाइँ गर्नसमेत समस्या भएको थियो । जल तथा मौसम विज्ञान विभागले कोसी प्रदेशका अधिकांश भागमा दिउँसो १ बजेसम्म मुसलधारे पानी पर्ने जनाउ दिएको छ । विभागले पहाडी भेग तथा उच्च नदी वहाब भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि भनेको छ ।
निरन्तर पानी परेपछि विराटनगरबासीलाई गार्मीबाट राहत मिलेको छ । विराटनगरका नितेष साहले बिहानौबाट पानी परेकोले गर्मीबाट केही राहत मिलेको बताए ।
कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको चल्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । बिहीबार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुने सम्भावना पनि छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण र सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।